Sagun Khabar
नेता बनेर होइन, यो महान् देशको नागरिक बनेर फर्किएको छु : देउवा

काठमाण्डौ – नेपाली कांग्रेसका निवर्तनमान सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेता बनेर नभई यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको बताएका छन् । 

स्वदेश फर्किएपछि अपीलपत्र जारी गर्दै देउवाले आफू विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तयार रहेको उल्लेख गरेका छन् । आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्केको उनको भनाइ छ ।

आफू ५ महिना लामो उपचारपछि स्वदेश फर्किन पाउँदा खुशी भएको भन्दै देउवाले आफ्नो स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद दिएका छन् । 

२०३३ सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्कँदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने समय आएको उद्घोष गरेका प्रसङ्ग जोड्दै देउवाले ४७ वर्षपछि फेरि राष्ट्रिय एकतालाई मजबुत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको बताए ।

देउवाले प्रतिशोधभन्दा पनि मेलमिलापको मार्ग रोज्न आह्वान गरेका छन् । साथै उनले  कांग्रेसभित्र देखिएको अहसमति र निराशा तुरुन्त समाधान हुनुपर्ने पनि बताए ।
 

प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update