बैतडी - राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।
भदाै १० गते भाेटेकाेशी बाढीले पुर्याएकाे अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँले आज राष्ट्रका नाममा विशेष सम्बोधन गर्नुभएको हो । सम्बोधनमा राष्ट्रपति पौडेलले यस प्राकृतिक प्रकोपलाई ‘कहालीलाग्दो र अकल्पनीय’ संज्ञा दिनुभएको छ । बाढी र पहिरोका कारण जनधनको ठूलो क्षति हुनुका साथै सडक, पुल र जलविद्युत् आयोजनाजस्ता राष्ट्रका महत्त्वपूर्ण पूर्वाधारहरू ध्वस्त भएकोमा उहाँले गम्भीर चिन्ता प्रकट गर्नुभयो ।
राष्ट्रपति पौडेलले विपत्तिमा परेर ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन सरकारलाई निर्देशन दिनुभएको छ ।
नेपालले आफ्नो भूमिमा रहेका हरेक विदेशी नागरिकलाई परिवारको सदस्य सरह मान्ने उल्लेख गर्दै उहाँले प्रभावित देशका सरकार तथा कूटनीतिक नियोगहरूसँग प्रभावकारी समन्वय भइरहेको जानकारी दिए ।
जोखिमपूर्ण अवस्थामा ज्यानको प्रवाह नगरिकन उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय प्रतिनिधि र स्वयंसेवकहरूको उच्च प्रशंसा गर्दै राष्ट्रपतिले उनीहरूको कार्यलाई नेपाली राष्ट्रिय चरित्रको उत्कृष्ट नमूनाका रूपमा चित्रण गर्नुभयो ।
उद्धार गरिएका नागरिकका लागि स्वच्छ खानेपानी, खाद्यान्न, औषधि र सुरक्षित आश्रयस्थलको सुनिश्चितता गर्न राष्ट्रपति पाैडेलले जोड दिए ।
विपद्को समयमा प्राविधिक विशेषज्ञ, चिकित्सकीय टोली र उपकरणसहित सहयोग गर्ने छिमेकी मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायप्रति राष्ट्रपतिले कृतज्ञता ज्ञापन गर्नुभयो । यसै सन्दर्भमा उहाँले हिमाली क्षेत्रको नाजुक परिस्थितिलाई विश्वव्यापी तापक्रम वृद्धिसँग जोड्दै अन्तर्राष्ट्रिय मञ्चमा ‘जलवायु न्याय’ का लागि ठोस कदम चाल्न विश्व समुदायलाई आह्वान गर्नुभयो ।
राष्ट्रपति पौडेलले वर्तमान समय राजनीतिक विवाद वा एकअर्कालाई दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने बेला भएको बताउनुभयाे । उहाँले भन्नुभयो, ‘यो विभाजनको समय होइन, यो त पुनर्निर्माण र आर्थिक पुनरुत्थानको समय हो ।’
साथै भविष्यमा यस्ता जोखिम न्यूनीकरणका लागि नेपालको वर्तमान विकास मोडेलमाथि पुनर्विचार गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।




