बैतडीका पाँच पालिकामा आज स्थानीय सार्वजनिक बिदा

बैतडी–बैतडीका पाँच ओटा पालिकाले आज सार्वजनिक बिदा दिएका छन् । 

जिल्लाका दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका, सुर्नया गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । 

मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकामा हिजो पनि सार्वजनिक बिदा रहेको थियो । 

विभिन्न शक्तिपीठ र मन्दिरहरुमा लागेको जात्राको अवसरमा स्थानीय तहहरुले बिदा दिएका हुन् । जात्रा तथा मेलाहरुमा स्थानीयहरुको सहभागितालाई दृष्टिगत गरेर बिदा दिएको पालिकाले जनाएका छन् । 
जिल्लाको दशरथचन्द नगरपालिकाले वडा नं ४ गढीस्थित जगन्नाथ मन्दिर र वडा नं ११ सीमस्थित केदार मन्दिरको जात्राको अवसरमा सार्वजनिक बिदा दिएको जनाएको छ । 

यस्तै मेलौली नगरपालिकाले मेलौली भगवती मन्दिरमा लागेको जात्राको अवसरमा बिदा दिएको भने शिवनाथ गाउँपालिकाले देहीगडा भगवती मन्दिरमा लागेको जात्राको अवसरमा बिदा दिएको हो । 
यस्तै सुर्नया गाउँपालिकाले वडा नं ५ स्थित फाल्ङाशैनी भगवती मन्दिरमा लागेको जात्राको अवसरमा बिदा दिएको जनाएको छ । 

पञ्चेश्वर गाउँपालिकाले गणमेश्वर मन्दिर र छिमेकी मेलौली नगरपालिकामा रहेको मेलौली भगवती मन्दिरमा लागेको जात्राको अवसरमा बिदा दिएको जनाएको छ । 

स्थानीय सार्वजनिक बिदाका दिन पालिका मातहतका सरकारी कार्यालय, गैरसरकारी निकाय, शिक्षण संस्था बन्द रहने सम्बन्धित पालिकाले जनाएका छन् । 

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३  ०८:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update