बैतडी–नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले आयोजना गरेको ट्यालेन्ट हन्टबाट बायाँहाते मध्यम गतिका बलर टेकराज थलाललाई आइकोनिक खेलाडीका रूपमा छनोट गरेको छ ।
सुदूरपश्चिमका विभिन्न जिल्लामा आयोजना गरिएको ट्यालेन्ट हन्टमार्फत स्थानीयस्तरमा रहेका क्रिकेट प्रतिभाको खोजी गरिएको थियो । ट्यालेन्ट हन्टमा दार्चुला, बैतडी, बझाङ, डोटी, डडेल्धुरा, अछाम, बाजुरा, कैलाली र कञ्चनपुरका खेलाडीलाई समेटिएको थियो ।
१४ असोजमा बैतडीको डिलासैनीमा दार्चुला र बैतडीका खेलाडीबाट सुरु भएको ट्यालेन्ट हन्ट १५ असोजमा बझाङ, १६ असोजमा डोटी र डडेल्धुरा तथा १७ असोजमा अछाम र बाजुरामा पुगेको थियो । १९ असोजमा धनगढीमा कैलाली र कञ्चनपुरका खेलाडीको ट्यालेन्ट हन्ट गरिएको थियो ।
ट्यालेन्ट हन्टको अन्तिम चरण २० र २१ असोजमा धनगढी ओभलमा आयोजना गरिएको थियो ।
टेकराज थलाल यसअघि पनि सुदूरपश्चिमको डेभलपमेन्ट स्क्वाडमा रहिसकेका खेलाडी हुन् । यसपटक भने उनलाई सुदूरपश्चिम रोयल्सले एनपीएलको तेस्रो सिजनका लागि आइकोनिक खेलाडीका रूपमा अघि सारेको हो ।
ट्यालेन्ट हन्टबाट कञ्चनपुरका धीरेन्द्र साउद र लोकेश जोशी, कैलालीका हेमन्त बुढा, सन्तोष विश्वकर्मा र सुधांशु रावल तथा दार्चुलाका वीरेन्द्र बमलाई ‘हिरोज’का रूपमा समेत छनोट गरिएको छ ।




