बैतडी–बालविवाह रोकथामका लागि सचेतनामूलक कार्यक्रममै जोड दिइएको छ । बैतडीको पाटनमा शनिबार आयोजित एक कार्यक्रमका सहभागीहरुले सघन रुपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेर बालविवाह रोकथाम गर्न सकिने बताएका छन् ।
परोपकार ग्रामीण संघले सरोकारवालाहरुसँग आयोजना गरेको समन्वयात्मक बैठकका सहभागीहरुले बालविवाह एक हानिकारक प्रचलन भएकाले यसको रोकथामका लागि घर–घरमा सचेतना पुग्नुपर्ने बताएका छन् ।
पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले अभियानकै रुपमा सचेतनामूलक कार्यक्रम सञ्चालनमा ल्याउन सके बालविवाह रोकथाम हुने बताए । बालविवाहका कारण अनेक स्वास्थ्य समस्या सिर्जना हुने भएकाले अभिभावक,किशोरकिशोरी र अन्य सरोकारवालाहरुले संयुक्त रुपमा अभियान सञ्चालन गर्नुपर्नेमा उनको जोड छ ।
बालविवाह विभिन्न कारणले भइरहेकाले अन्तरपुस्ता सम्वादजस्ता कार्यक्रमहरुलाई सघन रुपमा अगाडि बढाउनुपर्ने सिद्धनाथ मावि सिलङ्गाका प्रधानाध्यापक लक्ष्मणसिंह बोहराले बताए । यो क्षेत्रमा काम गर्ने संघ संस्था र स्थानीय सरकारहरुले बालविवाह रोकथामका लागि संयुक्त कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा सहभागी इलाका प्रहरी कार्यालय पाटनका प्रमुख,प्रहरी निरीक्षक इन्द्रराज भट्टले पछिल्लो समयमा सामाजिक सञ्जालको दुरुपयोग लगायतका कारण बालविवाह भइरहेकाले यसको सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
बालविवाह रोकथामका लागि पालिका र वडा तहबाट विभिन्न प्रयासहरु भइरहेका र यसमा सबैको सहयोग हुनुपर्ने पाटन नगरपालिका –६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टले बताए ।
परोपकार ग्रामीण विकासले लामो समयदेखि बालविवाह न्यूनीकरणको क्षेत्रमा काम गरिरहेको र स्थानीय सरकारको सरोकारको बिषय पनि भएकाले नगरपालिकाले सहकार्य गर्ने पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए ।
परोपकार ग्रामीण विकास संघले गल्स फस्ट फण्डको सहयोगमा पाटन नगरपालिका वडा नं २ र ६ मा बालविवाह रोकथाम र किशोरकिशोरीको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिरहेको संघकी कार्यक्रम संयोजक कुन्ती भट्टले बताइन् ।
सन् २०२७ मा संस्थाकातर्फबाट सञ्चालन गरिने क्रियाकलापको बारेमा सरोकारवालाहरुलाई जानकारी दिन कार्यक्रमको आयोजना गरिएको उनले बताइन् ।
बालविवाह रोकथाम र किशोरकिशोरीहरुको क्षमता अभिवृद्धिका लागि संस्थाकातर्फबाट अबको एक बर्षको अवधिमा रुपान्तरण कक्षा, अन्तरपुस्ता सम्वाद, धार्मिक अगुवाहरुसँग सम्वाद, लागू औषध दुर्व्यसन नियन्त्रणका लागि अन्तरक्रिया, यौन तथा प्रजनन स्वास्थ्यका बिषयमा जानकारी दिन अन्तरक्रिया लगायतका कार्यक्रमहरु सञ्चालन गरिने भट्टले बताइन् ।




