Sagun Khabar
बैतडीको मेलौलीका राजेन्द्र बने, सुदूर–कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टारका विजेता

बैतडी –बैतडीको मेलौलीका राजेन्द्रकान्त दयाल सुदूर–कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टार–२०२६ को गायनतर्फ विजेता बनेका छन् । 

शनिश्चर म्युजिक कम्पनी प्रालिको आयोजनामा सञ्चालन भएको प्रतियोगिताका विभिन्न चरण पार गर्दै दयाल सिजन–१ को विजेता बन्न सफल भएका हुन् । 

पेशाले स्वास्थ्यकर्मी रहेका दयाल कला क्षेत्रमा समेत सक्रिय छन् ।  स्वास्थ्य सेवामा आबद्ध रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएका दयालले लामो समयदेखि गायन क्षेत्रमा समेत सक्रियता देखाउँदै आएका छन् । 

उनले विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै आफ्नो गायन प्रतिभा प्रस्तुत गर्दै आएका छन् । स्वास्थ्य सेवा र कला क्षेत्रलाई सँगसँगै अघि बढाइरहेका दयालको यस सफलताले उनको सांगीतिक यात्रामा थप उत्साह थपेको छ । 

आयोजकले दयाललाई गायनतर्फको विजेता घोषित गर्दै प्रमाणपत्र र दुई लाख रुपैयाँको पुरस्कार समेत प्रदान गरेको छ । उनलाई थाइल्यान्ड, मलेसिया र सिंगापुर भ्रमण सम्बन्धी अन्तर्राष्ट्रिय टुर अवार्ड पनि प्रदान गरिएको प्रमाणपत्रमा उल्लेख छ ।

प्रतियोगिताको विजेता बनेपछि दयालले आफूलाई यहाँसम्म पुग्न सहयोग गर्ने, हौसला प्रदान गर्ने तथा साथ दिने सबैप्रति आभार व्यक्त गरेका छन् । उनले आगामी दिनमा पनि सबैको साथ र सहयोगको अपेक्षा गरेका छन् । 
 

प्रकाशित मिति: शनिबार, असोज २४, २०८३  १७:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update