बैतडीको पाटनले लैङ्गिक हिंसाविरुद्ध टिकटक र रिल प्रतियोगिता आयोजना गर्दै, प्रथम हुनेलाई १५ हजार पुरस्कार

बैतडी–बैतडीको पाटन नगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत टिकटक र रिल प्रतियोगिता आयोजना गर्ने भएको छ । 

‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहिनताको अन्त्य, न्यायको सुनिश्चितता’ भन्ने मूल नाराका साथ बुधबारदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु हुँदैछ । 

लैङ्गिक हिंसाविरुद्धको अभियान अन्तर्गत नगरपालिकाले सचेतनामूलक टिकटक भिडियो तथा फेसबुक रिल प्रतियोगिता आयोजना गर्न लागेको हो । 

प्रतियोगितामा भाग लिन चाहनेहरुले मंसिर ९ गतेदेखि मंसिर २४ गतेसम्म नगरपालिकाले उपलब्ध गराएको इमेलमा भिडियो पठाउन सक्ने सूचनामा उल्लेख गरिएको छ । 

लैङ्गिक हिंसा न्यूनीकरण तथा लैङ्गिक हिंसाविरुद्ध सकारात्मक सन्देश दिने खालको भिडियो हुनुपर्नेछ भने भिडियो आफ्नै भाषामा पूर्ण मौलिक र सभ्य भाषा शैलीमा निर्माण भएको हुनुपर्नेछ । 

यस्तै भिडियो १५ सेकेण्डभन्दा बढीको हुनुपर्नेछ भने एकजनाले एकभन्दा बढी भिडियो पठाउन सकिने उल्लेख गरिएको छ । यद्यपि छनौट प्रक्रियामा एकभन्दा बढी भिडियो छनौट नगरिने नगरपालिकाले जनाएको छ । 

भिडियो प्रतियोगितामा छनौट भएकामध्ये प्रथम हुनेलाई रु.१५ हजार, दोश्रो हुनेलाई रु १० हजार र तेश्रो हुनेलाई रु ५ हजार पुरस्कार प्रदान गरिने पाटन नगरपालिकाले जनाएको छ । 

भिडियोमार्फत दिइएको सन्देश, भिडियोले प्राप्त गरेको लाइक, भ्युज, कमेन्ट र शेयरको आधारमा उत्कृष्ट छनौट गरिने बताइएको छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३  १६:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update