बैतडीमा ९१ वर्षीया वृद्धालाई घरमै नागरिकता प्रदान

बैतडी–बैतडीमा एकजना ९१ वर्षीया वृद्धालाई घरमै नागरिकता प्रदान गरिएको छ । 

‘अशक्तसँग प्रजिअ’ कार्यक्रम अन्तर्गत पाटन नगरपालिका–३ गुजरकी ९१ वर्षीया धिङडी भट्टलाई उनको घरमै पुगेर बिहीबार नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो । अपांगता समेत रहेकी भट्टलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन् । 

नागरिकता प्राप्तिका लागि विभिन्न कारणले जिल्ला प्रशासन कार्यालयमा आउन नसक्ने नागरिकहरुका लागि सञ्चालन गरिएको ‘अशक्तसँग प्रजिअ’ कार्यक्रम अन्तर्गत बिहीबारमात्रै पाटनमा चार जनालाई नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् । 

बैतडीमा सञ्चालन गरिएको यो कार्यक्रम अन्तर्गत अहिलेसम्म १५ जनाले नागरिकता प्राप्त गरिसकेका छन् । अपांगता भएका र अशक्त नागरिकहरुलाई लक्षित गरेर सञ्चालन गरिएको यो कार्यक्रम निकै प्रभावकारी रहेको स्थानीयहरुले बताएका छन् । 

अपांगता भएकै कारण नेपाली नागरिकताको प्रमाणपत्रबाट वञ्चित रहेकी ९१ वर्षीया धिङडी भट्टले घरमै नागरिकता पाएपछि खुशी व्यक्त गरेको वडा अध्यक्ष करुणाकर भट्टले बताए । 

जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको ‘अशक्तसँग प्रजिअ’ कार्यक्रम अन्तर्गत जिल्लाका ८४ ओटै वडाबाट अशक्त, अपांगता भएका व्यक्तिहरुको विवरण संकलन गरिएको छ । जिल्लाका सबै ठाउँमा पुगेर उनीहरुलाई नागरिकता प्रदान गर्ने लक्ष्य रहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् । 

कार्यक्रम अन्तर्गत अशक्त तथा अपांगता भएका व्यक्तिहरुलाई उनकै घर, नजिकको पायक पर्ने स्थान वा वडा कार्यालयमा पुगेर नागरिकता प्रदान गर्ने गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ११, २०८३  ०८:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update