बैतडी–बैतडीमा अन्तर वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।
जिल्ला खेलकुद समितिको आयोजनामा कार्तिक १३ गतदेखि मेलौली नगरपालिकाको खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको तयारी तीव्र रुपमा अगाडि बढाइएको जिल्ला खेलकुद समितिका अध्यक्ष भुपेन्द्र चन्दले बताए ।
वडास्तरबाटै प्रतिभा पहिचान, सांस्कृति प्रवद्र्र्धन हाम्रो अभियान भन्ने नारासहित भलिबल प्रतियोगिताको आयोजना गर्न लागिएको छ ।
उक्त प्रतियोगितामा कार्तिक १२ गतेसम्म टीम दर्ता गराउन सकिनेछ भने टीम दर्ताका लागि ५ हजार ५५५ रुपैयाँ शुल्क तोकिएको छ ।
प्रतियोगितामा महिला र पुरुषतर्फ प्रथम हुने टीमलाई नगद १ लाख ११ हजार १११ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै दोश्रो हुने टीमलाई नगद ७७ हजार ७ सय ७७ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगितामा तेश्रो हुने टीमलाई नगद ४४ हजार ४४४ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष चन्दले बताए ।
प्रतियोगितामा महिला र पुरुषतर्फका सर्वोत्कृष्ट खेलाडीलाई नगद ७ हजार ७ सय ७७ रुपैयाँ, ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ । यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्टर सटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर लिब्रो, उत्कृष्ट सर्भर, उदयीमान खेलाडी र उत्कृष्ट कोचलाई नगद ५ हजार ५ सय ५५ रुपैयाँका साथै ट्रफी र मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुने प्रत्येक टीमलाई मायाको चिनोसहित सहभागिता प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।
प्रतियोगितामा खेलका साथै सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिने बताइएको छ । कलाकार शेरी औजी, कल्पना बिष्ट लगायतको सहभागितामा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।




