बैतडी–रसुवा बाढीमा बेपत्ता भएका बैतडीको सुर्नया गाउँपालिका–५ ककस्यालीका २५ बर्षीय केशव बिष्टको कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ ।
बेपत्ता भएको दुई महिनासम्म पनि केशवको अत्तोपत्तो नभएपछि परिवारले कुशको शव बनाएर आज अन्तेष्टी गरेको मृतकका ठूलबुवा भानबहादुर बिष्टले जानकारी दिए । भदौ १० गतेको बाढीपछि सम्पर्कविहिन भएका केशवको खोजीका लागि सबै पहल गर्दा समेत फेला नपरेपछि धार्मिक विधि अनुसार कुशको शव बनाएर आज चनैराज आर्यघाटमा अन्तेष्टी गरिएको उनले बताए ।
बुधबार बिष्टको कुशको शव बनाइएको थियो । उनको घरबाट शवयात्रासहित मलामीहरु चनैराज आर्यघाट पुगेका थिए ।
केशवको खोजीका लागि गरिएका सबै पहलहरु निष्फल भएपछि उनको परिवार कुशको शव बनाएर अन्तेष्टी गर्ने निर्णयमा पुगेको थियो ।
रसुवास्थित लाङटाङ हाइड्रो पावरमा बिष्ट विगत दुई बर्षदेखि सव–इन्जिनियर पदमा कार्यरत रहेका थिए । रसुवा बाढीपछि उनी बेपत्ता भएका थिए ।
गाउँको एक होनहार युवा बाढीले बेपत्ता बनाएपछि ककस्याली गाउँ शोकमा डुबेको छ । उनका परिवार र आफन्तजनलाई सम्हालिन गाह्रो भएको छ ।
बिष्टको घरमा आमा–बुवाका साथै एक भाइ र बहिनी रहेका छन् ।





