बैतडी–बैतडीको दशरथचन्द नगरपालिकामा स्थापना गरिएको माटो परीक्षण प्रयोगशाला प्रयोगविहिन भएको छ । माटो परीक्षणका लागि प्रयोगशालामा किसानहरु नआउँदा प्रयोगशाला प्रयोगविहिन बनेको हो ।
सुदूरपश्चिम प्रदेश सरकारको १० लाख रुपैयाँ लागतमा माटो परीक्षण प्रयोगशाला स्थापना गरिएको थियो । किसानको खेतबारीको माटो परीक्षण गरी उनीहरुलाई सोही अनुसार खेतीपाती गर्न सहज होस भनेर प्रयोगशाला स्थापना गरिएको भएपनि किसानहरु प्रयोगशालामा नआउने गरेको नगरपालिकाका कृषि शाखा प्रमुख दिपक कार्कीले बताए ।
एक बर्षको अवधिमा माटो परीक्षणका लागि एकजना किसान पनि प्रयोगशालामा नआएको कार्कीले बताए । जसका कारण ल्याबका सामग्री प्रयोगविहीन भएर थन्किएका छन् ।
माटो परीक्षणका लागि कुनै शुल्क नलाग्ने व्यवस्था गरिए पनि किसानले यसबाट फाइदा लिन नसकेको कार्कीले बताए । नगरपालिकाले आफ्नो स्थापनाको ३० औँ दिवसका अवसरमा गत वर्ष कृषि क्षेत्रको उत्पादन बढाउने उद्देश्यका साथ माटो परीक्षण प्रयोगशाला र कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको थियो ।
कृषि शाखा प्रमुख कार्कीका अनुसार यस प्रयोगशालाबाट माटोको अम्लीयपन, क्षारीयपन वा तटस्थता जाँच गर्न सकिन्छ । यसका साथै बिरुवाका लागि आवश्यक मुख्य तत्वहरू नाइट्रोजन, फस्फोरस, पोटास, र प्राङ्गारिक पदार्थको मात्रा पनि जाँच गरिन्छ । यद्यपि प्रचारप्रसार वा चेतनाको कमीले गर्दा ल्याबले अझैसम्म किसान पाउन सकेको छैन ।
बैतडीपछि माटो परीक्षण गर्ने ल्याब कञ्चनपुरको सुन्दरपुरमा रहेको छ । किसानलाई त्यहाँ पुग्न आतेजाते बस भाडा र माटो परीक्षण शुल्कसहित करिब पाँच हजार रुपियाँ खर्च हुने गर्दछ । तर नगरपालिकामा रहेको माटो परीक्षण प्रयोगशाला भने प्रयोगविहिन रहेको छ ।
घुम्ती माटो परीक्षण शिविरबाट एक सय बढी नमूना परीक्षण गरिएका भएपनि कार्यालयमा आएर कसैले माटो परीक्षण नगराएको कार्कीले बताए





