Sagun Khabar
मिठाई पसल अनुगमनमा तीव्रता 

बैतडी–बैतडीमा मिठाई पसल अनुगमनमा तीव्रता दिइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जिल्लाका विभिन्न स्थानमा रहेका मिठाइ पसलहरुको निरन्तर अनुगमन गरिरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख विक्रम श्रेष्ठले जानकारी दिए । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाई पसलहरुमा मिठाईको मूल्य, सम्मिश्रण हुने कच्चा पदार्थ, उत्पादन र उपभोग्य मिति अनिवार्य रुपमा राख्न निर्देशन दिएपछि सो निर्देशन कार्यान्वयन गर्न आग्रह गरिएको श्रेष्ठले बताए ।

विभागले गत असोज ३० गते निर्देशन जारी गर्दै मिठाईको मूल्य, मिश्रण हुने कच्चा पदार्थ, प्रयोग गरिएको तेल र घीउको नाम, उपभोग्य मिति लगायतका कुराहरु ग्राहकले देखिने गरेर राख्न आग्रह गरेको थियो । उक्त निर्देशन कार्तिक ११ देखि अनिवार्य रुपमा पालना गर्न भनिएको थियो । 

सोही निर्देशन कार्यान्वयनको अवस्था र निर्देशन कार्यान्वयन नभएका ठाउँमा निर्देशन बमोजीम मिठाईको विक्रि गर्नका लागि आग्रह गर्दै अनुगमनलाई तीव्रता दिइएको श्रेष्ठले बताए । जिल्ला सदरमुकाम र देहीमाण्डौं क्षेत्रमा अनुगमन गर्दा धेरै पसलमा निर्देशन कार्यान्वयन भएको पाइएको र नभएका पसलमा पनि निर्देशन कार्यान्वयनका लागि आग्रह गरिएको श्रेष्ठले बताए । 

मिठाई राख्ने सोकेसमै स्पष्ट रुपमा देखिने गरेर मिठाईको मूल्य, प्रयोग गरिएको कच्चा पदार्थ, प्रयोग गरिएको घीउ÷तेल, उपभोग्य मिति लगायतका विवरण राख्न लगाइएको उनले बताए । 

यसअघि जिल्ला प्रशासन कार्यालयले समेत एक सूचना जारी गर्दै मिठाइ विक्रि वितरण गर्दा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जारी गरेको निर्देशन अनिवार्य रुपमा पालना गर्न आग्रह गरेको थियो । 
निर्देशन पालना नभएको पाइएमा कानुन बमोजीम कारबाही समेत हुने प्रशासनले जनाएको छ । 

यसैबीच जिल्ला प्रशासन कार्यालयको टोलीले पुर्चौंडी नगरपालिकाको वडा नं ६ र ७ मा रहेका पसलहरुमा आइतबार आकस्मिक अनुगमन गरेको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी भोजलाल थारुको नेतृत्वमा रहेको अनुगमन टोलीले बजारमा अनुगमन गरेको हो । अनुगमनका क्रममा म्याद नाघेका अखाद्य वस्तुहरु बरामद गरि नष्ट गरिएको प्रशासनले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update