Sagun Khabar
डोटीको पूर्वीचौकी गाउँपालिकामा कांग्रेसको ‘क्लिनस्वीप’

डोटी- डोटीको पूर्विचौकी गाउँपालिकामा कांग्रेसले क्लिनस्वीप गरेको छ। अध्यक्ष, उपाध्यक्षसहित सातवटै वडाध्यक्ष र सबै वडासदस्यमा कांग्रेसका उम्मेदवारहरू विजयी भएका हुन्।अध्यक्षमा कांग्रेस उम्मेदवार रामप्रसाद उपाध्यायले ५ हजार १३३ मत प्राप्त गरे।

जुन सदर मतको ६७ दशमलव ५६ प्रतिशत हो। यहाँ कूल ८ हजार २५६ मत खसेको थियो। जसमध्ये ७ हजार ५९७ मत सदर भएको छ। अध्यक्षमा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णकुमार खड्काले २ हजार २०५ मत प्राप्त गरे। यस्तै उपाध्यक्षमा पनि कांग्रेसकी पशुपति खड्का ४ हजार ७२४ मत हासिल गरेर विजयी भइन्।

उनका प्रतिद्वन्द्वी एमालेकी शारदाकुमारी साउँदले दुई हजार ४४४ मत प्राप्त गरिन्।वडाध्यक्षहरूमा कांग्रेसकै उम्मेदवारहरू १ नम्बर वडामा अंकबहादुर खड्का, २ नम्बरमा योगेन्द्रबहादुर ठकुल्ला, ३ नम्बरमा खड्कबहादुर धामी, ४ नम्बर वडामा बलबहादुर खड्का, ५ नम्बरमा खड्कबहादुर साउँद, ६ नम्बरमा पुष्पराज जोशी र ७ नम्बर वडामा प्रेमबहादुर खड्काको प्यानल विजयी भएको छ।

Atrya hospital

यसअघि २०७४ को निर्वाचनमा यो पालिकामा कांग्रेस अध्यक्ष उम्मेदवार उपाध्याय एमालेका दीर्घराज बोगटीसँग पराजित भएका थिए। त्यतिबेला कांग्रेसले ५ वटा वडाध्यक्ष जित्दा पनि गाउँपालिका अध्यक्ष र उपाध्यक्ष हारेको थियो।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update