Sagun Khabar
भत्कियो माओवादीको लाल किल्ला, पुर्चौंडीमा नेपाली कांग्रेस विजयी 

बैतडी –नेकपा माओवादी केन्द्रले आफ्नो आधार इलाका भन्दै आएको पुर्चौंडी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गएको स्थानीय तहको निर्वाचनमा मेयर र उपमेयर दुवै पदमा जितेको माओवादी केन्द्रले पुर्चौंडीमा अहिले दुवै पद गुमाएको छ । मेयरमा नेपाली कांग्रेसका दीपकबहादुर बम विजयी भएका छन् । गएको स्थानीय तहको निर्वाचनमा थोरै मतले माओवादी केन्द्रका रणबहादुर कुँवरसंग पराजित भएका बम यो पाली भने मेयरमा निर्वाचित भएका छन् । बम नेकपा एमालेका कर्णबहादुर कुँवर र नेकपा माओवादी केन्द्रका विक्रम कुँवरलाई पछि पार्दै मेयरमा निर्वाचित भएका हुन् । 

यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकै मीना धानुक विजयी भएकी छिन् । नेकपा एमालेकी जानकी साउँदलाई पछि पार्दै उनी उपमेयरमा विजयी भएकी हुन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

 नगरप्रमुखमा  निर्वाचित   दीपक बमले ५८८० मत ल्याएका हुन् भने उनका निकटतम प्रतिस्प्रर्धी  एमालेका कर्ण बहादुर कुवँरले ३९६५ मत ल्याएका छन् ।

यस्तै माओवादी केन्द्रका बिक्रम कुवँर प्रतिकले ३९०६ मत ल्याएका छन् । उपप्रमुखमा पनि धानुकले ५२०० मत ल्याएर विजयी भएकी हुन् । धानुककी प्रतिस्प्रर्धी एमालेकी जानकी बोहरा साउँदले ४६१२ मत ल्याएकी छिन् । माओवादी केन्द्रकी नन्दा कुमारी शाहले ३९२३ मत ल्याएकी छिन्  ।

माओवादी युद्धकालदेखि नै माओवादीको प्रभाव रहेको पुर्चौंडीमा नेपाली कांग्रेसले विजय हासिल गरेको हो । यो पालिकामा माओवादीले आफ्नो संगठन बलियो रहेको बताएपनि निर्वाचनमा हार व्यहोरेको छ । ५ बर्ष पुर्चौंडीमा माओवादीले सरकार चलाएपनि जनतासंगको सम्बन्ध सुधार गर्न नसकेका कारण हार व्यहोर्नु परेको माओवादीकै नेताहरु बताउँछन् । 

पार्टीले हार व्यहोरेपनि अब जनतामा गएर संगठन बलियो बनाउनुपर्ने माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटि सदस्य कृष्णप्रसाद बडु (भाष्कर)ले बताए । उनले भने ‘चुनावमा हारजितको बिषय ठूलो होइन् । फेरी पार्टीले नागरिकस्तर सम्म बलियो सम्बन्ध बनाउनुपर्छ ।’

पुर्चौंडी १० वडा मध्ये ५ ओटामा नेपाली कांग्रेसले जित हात पारेको छ भने ४ मा एमालेले जित हात पारेको छ । माओवादी केन्द्रले भने एक वडामात्रै झिनो मतान्तरले जित हात पारेको छ । पुर्चौंडी नगरपालिकाको वडा नं १ मा कांग्रेसका गणेशबहादुर गडाल, वडा नं २ मा कांग्रेसका चक्रबहादुर बम, वडा नं ३ मा एमालेका खगेन्द्र बोहरा, वडा नं ४ मा एमालेका दिलबहादुर धानुक र वडा नं ५ माओवादीका नागीसिंह खडायत निर्वाचित भएका छन् । 

यस्तै वडा नं ६ मा नेपाली कांग्रेसका नरेन्द्र साउँद, वडा नं ७ मा कांग्रेसका धिरेन्द्रबहादुर बम, वडा नं ८ मा एमालेका बीरबहादुर बोहरा, वडा नं ९ मा एमालेका रम्बा बोहरा र वडा नं १० कांग्रेसका हिक्मतबहादुर बिष्ट विजयी भएका छन् । 
 

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update