Sagun Khabar
मकवानपुर र रुकुमपूर्वमा भएका छुट्टाछुट्टै बस दुर्घटनामा ९ जनाको मृत्यु 

काठमाण्डौं – मकवानपुर र रुकुम पूर्वमा भएका छुट्टाछुट्टै बस दुर्घटनामा परी ९ जनाको मृत्यु भएको  छ । मकवानपुरमा ६ जना र रुकुम पूर्वमा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बिहीबार दिउँसो काठमाडौंबाट हेटौंडाका लागि छुटेको बस भीमफेदी गाउँपालिकास्थित जुरीखेतमा दुर्घटना हुँदा बसमा सवार ६ जनाको मृत्यु हो । 

मकवानपुरका प्रहरी प्रमुख वामदेव गौतमका अनुसार ना ३ ख ७८५८ नम्वरको बस दुर्घटनामा परेको हो ।  बसमा अन्दाजी २८ जना सवार रहेको उनको भनाई छ । छ जनाको मृत्यु भएको जानकारी आए पनि थप विवरण आउन बाँकी रहेको गौतमले बताए ।

यस्तै रुकुमपूर्वमा बस दुर्घटना हुँदा कम्तिमा ३ जनाको मृत्यु भएको छ । जिल्लाको भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा बिहीबार दिउँसो साढे २ बजे बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

काठमाडौंबाट रुकुमकोटका लागि छुटेको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जानकारी दिए । 

१७ जना सवार रहेको बस क्याङ्सी बगरस्थित मध्यपहाडी राजमार्गदेखि अन्दाजी १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ । 
 

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  १६:१४
प्रतिक्रिया दिनुहोस्