Sagun Khabar
फेरियो तिरखडेनी, तरकारीबाट आम्दानी गर्दै स्थानीय 
फोटो: सिँचाई सुविधा भएपछि तिरखडेनीमा स्थानीयहरुले गरेको तरकारी खेती

बैतडी–जिल्लाको दशरथचन्द नगरपालिका १० तिरखडेनीका बासिन्दा आज भन्दा एक बर्ष पहिला ६ महिना खेत बाँझो राख्ने गर्दथे । सिँचाईको अभावमा उनीहरु खेत बाँझै छोड्न बाध्य भएका थिए । तर अहिले भने तिरखडेनी हराभरा भएको छ । रुडेस बैतडीले सञ्चालन गरेको ट्रोसा परियोजनाले तिरखडेनीका बासिन्दाको समस्या समाधान गरेको हो । नदी तटीय क्षेत्रका बासिन्दाहरुका समस्या पहिचान गर्ने र ती समस्याहरुलाई समाधान गर्नका लागि कार्यक्रमले पैरवी गर्दै आएको छ । 

‘हामी महाकाली नदीको नजिकैका बासिन्दा हुँ । तर सिँचाईको अभावमा हाम्रो खेत बाँझै रहने गरेको थियो । पारीपट्टी भारतीय भूमीमा सधैं हराभरा भईरहन्थ्यो ।’स्थानीय पशुपति बुडालले भनिन् ‘अहिले हाम्रो गाउँमा पनि सिँचाई सुविधा भएपछि सजिलो भएको छ ।’

स्वास्थ्य सन्देश
Atrya hospital

तिरखडेनीका बासिन्दाका समस्याका बारेमा महिला सशक्तीकरण केन्द्रमा छलफल भएपछि दशरथचन्द नगरपालिका र ट्रोसा परियोजनाको संयुक्त प्रयासमा महाकालीबाट लिफ्टिङ गरेर गाउँमा सिँचाईका लागि पानी पुर्याइएको हो । ‘हामीले गठन गरेका महिला सशक्तीकरण केन्द्रमा सिँचाईको अभावमा खेत बाँझै रहेको सम्बन्धि छलफल भयो । त्यसपछि हामीले यो बिषयमा पैरवी गरेर सिँचाई योजना निर्माण गरेका हौं ।’रुडेस बैतडीका कार्यक्रम अधिकृत तेजराम लोहराले भने, ‘अहिले महाकालीको पानी गाउँमा पुगेपछि स्थानीयबासीहरुलाई सजिलो भएको छ ।’

गाउँमा सिँचाई योजना पुगेपछि आफूहरु तरकारी खेतीमा लागेको पञ्चकोटी महिला सशक्तीकरण केन्द्रकी संयोजक शान्ति बुडालले बताइन् । उनले भनिन् ‘हामीले सपना समेत सोचेका थिएनौं गाउँमा सिँचाई आउला भनेर । अहिले सिँचाई योजना सम्पन्न भएपछि हामीले तरकारीबाटै आम्दानी गर्न थालेका छौं ।’

गाउँमा सिँचाई योजना पुगेपछि अहिले तरकारी खेतीबाटै स्थानीयहरुले आम्दानी समेत गर्न थालेका बुडालले बताइन् । उनले भनिन् ‘हामी पहिला घरकै लागि पनि तरकारी किनेर ल्याउथ्यौं । अहिले हामी विक्रि गरिरहेका छौंं । सिँचाई सुविधा भएपछि हामीले सिजनमा ३५ हजारदेखि माथि कमाउन थालेका छौं ।’

महिला सशक्तीकरण केन्द्रमा उठेको सवालले सार्थकता पाएपछि आफूहरु अहिले निकै खुसी भएको पञ्चकोटी महिला सशक्तीकरण केन्द्रकी सचिव जयन्ती चन्दले बताइन् । उनले भनिन् ‘हामीले सिँचाईको अभावमा भईरहेको समस्याका बारेमा केन्द्रमा छलफल गरेका थियौं । त्यो छलफलपछि नगरपालिका र रुडेसबाट सिँचाईको योजना निर्माण भयो । महाकालीको पानी गाउँमा पुगेपछि हामीहरुलाई धेरै सहज भएको छ ।’

नदी तटीय क्षेत्रका बासिन्दाहरुको माग सम्बोधनका लागि ट्रोस परियोजनाले पहल गरिरहेको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताए । उनले भने ‘हामीले विभिन्न क्षेत्रमा रहेका नदी तटीय क्षेत्रमा बसोबास गरिरहेका नागरिकका समस्या उठान गर्ने र सम्बोधनका लागि पहल समेत गरिरहेका छौं । तिरखडेनीमा यसै परियोजना अन्तर्गत सिँचाई योजना सम्पन्न भएपछि अहिले स्थानीयहरुलाई सहज भएको छ ।’

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update