Sagun Khabar
बैतडीका १० ओटै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन 

बैतडी –आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राखेर बैतडीका सबै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको छ । निर्वाचनको मिति नजिक आइरहेको बेला मतदान कसरी गर्ने भन्ने विषयमा जानकारी दिनका लागि कार्यक्रम सञ्चालन गरिएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले जानकारी दिए । 

जिल्लाका १० ओटै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको जिल्ला निर्वाचन अधिकारी फुँयालले जानकारी दिए । हरेक पालिकाले स्थानीयस्तरमा रहेका कक्षा १० उत्तीर्ण गरेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई मतदाता शिक्षा कार्यक्रमका लागि परिचालन गरेको उनले बताए । स्थानीय तहहरुले हरेक वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । 

आगामी मंसिर १ गते सम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने बताइएको छ । मतदाता शिक्षा कार्यक्रमको अनुगमनका लागि प्रत्येक पालिकामा एक जना निर्वाचन फोकल पर्सन राखिएको फुँयालले बताए । 

मतदाता शिक्षा कार्यक्रम मत बदरको संख्या घटाउन सहयोग पुग्ने फुँयालले बताए । यस्तै जिल्ला निर्वाचन कार्यालयले बैतडीका सबै स्थानीय तहमा नमुना मतदान कार्यक्रम सञ्चालन गरेको छ ।

मतदान गर्ने तरिकाबारे जानकारी दिनका लागि नमुना मतदान कार्यक्रम सञ्चालन गरिएको र नमुना मतदानमार्फत मतदानका विषयमा आवश्यक जानकारी दिइन लागिएको जनाइएको छ । नमुना मतदानले बदर मतको संख्या घटाउनका लागि सहयोग पुग्ने विश्वास गरिएको छ ।

यसपटक मतदाताले चार मतपत्रमा छाप लगाउनुपर्नेछ । प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभाका लागि एक÷एक र समानुपातिकका लागि पनि प्रतिनिधिसभा र प्रदेशसभाको लागि एक÷एक गरेर चार मतपत्रमा  छाप लगाउनुपर्नेछ । निर्वाचन आयोगले आगामी मङसिर ३ गते १८ वर्ष पूरा भई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता भएकाले मतदान गर्न पाउने जनाएको छ । बैतडीमा प्रतिनिधिसभाका लागि एकमात्र क्षेत्र रहेको छ । यहाँ एक लाख ५० हजार एक सय ५६ मतदाता रहेका छन् । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  ०७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update