बैतडी –डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दू बनाएर भूकम्प गएको तेश्रो दिनपनि लगातार पराकम्प गइरहेका छन् । भूकम्प मापन केन्द्र सुर्खेत अनुसार आज सम्म डोटी भूकम्पछि ४ सय २ पराकम्प गइसकेका छन् । विभिन्न जिल्ला केन्द्र बिन्दू बनाएर पराकम्प गइरहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले बताए ।
बुधबार राति २ बजेर १२ मिनेटमा ६ दशमलब ६ रेक्टर स्केलको भूकम्पपछि लगातार पराकम्पहरु गइरहेका शर्माले बताए । डोटी भूकम्पका कारण घर भत्किँदा डोटीको पूर्वीचौकीमा ६ जनाको ज्यान गएको थियो ।
२०७२ सालमा गोरखा भूकम्पका पराकम्पहरु अहिले सम्म पनि गइरहेकाले कहिले सम्म पराकम्प गइरहन्छ भन्ने कुरा एकीन नहुने प्राविधिक सहायक शर्माले बताए । डोटी भूकम्प मध्यमस्तरको भएको र पश्चिम क्षेत्रमा शक्तिशाली भूकम्पको खतरा रहेको उनले बताए ।
लामो समयदेखि पश्चिम क्षेत्रमा भूकम्प नगएकाले शक्ति सञ्चय भइरहेको र त्यसले शक्तिशाली भूकम्पको खतरा रहेको उनले बताए ।




