Sagun Khabar
दार्चुलाको सीमा क्षेत्रमा आवतजावत शुरु, दुवै देशका अधिकारीबीच छलफल 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलाको सीमा क्षेत्र बन्द गरिएको पुल सुचारु भएको छ । आइतबार भारतीय पक्षले नेपालीहरुमाथि ढुंगा हानेको भन्दै पुलमा आवतजावत बन्द गरिएको थियो । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र भारतको धार्चुलाका एसडीएमबिच कुराकानी भएपछि पुलमा आवतजावत शुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले बताए । 

भारतले नेपाल तर्फ महाकाली नदीको धार फर्काउने गरेर तटबन्धन निर्माण गरिरहेको भन्दै दार्चुलाका स्थानीयहरुले विरोध गरेका थिए । उनीहरुले विरोध गर्दा भारतीय पक्षले ढुंगा हानेको नेपाली पक्षको भनाइ छ । भारतीय नागरिकले हानेको ढुंगा लागेर चार जना नेपाली घाइते भएको बताइएको छ । यद्यपि घाइतेको बिषयमा कुरा मात्रै सुनिएको तर पुष्टि हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक शाहीले बताए । 

भारतले केही दिनयता तटबन्ध निर्माणलाई तीव्रता दिएको छ । नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलङ्गा जोखिममा पर्न सक्ने भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयवासीले भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप लगाउँदै तटबन्ध निर्माण कार्य तत्कालै रोकिनुपर्ने माग गर्दै आएका छन् । सीमामा भारतीय पक्षले गैरकानुनी ढंगले विभिन्न गतिविधि गर्दा समेत नेपाल सरकार र सरकार मातहतका सरोकारवाला निकायहरुले ध्यान नदिएको स्थानीयको गुनासो छ ।
 

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update