बैतडी –२४ बर्षकै कलिलो उमेरमा सुर्नया गाउँपालिका ६ कोखेत माइती घर भइ हाल सुर्नया ४ मेलडुङरामा बस्दै आएकी मञ्जु अवस्थी भट्ट पाठेघरको क्यान्सरबाट पीडित भएकी छन् । २ बर्ष देखि पाठेघरको क्यान्सरबाट ग्रसित भएपनि समयमै थाहा नपाएका कारण मञ्जुले पाठेघर फाल्न बाध्य हुनुपर्यो । उनले भनिन् ‘दुई बर्ष पहिला बिरामी भएकी हुँ । यता केही पत्ता लागेन । भारतको सितारगञ्जमा उपचारका लागि पुग्दा क्यान्सर भएको थाहा पाए । त्यसपछि अप्रेशन गरेर पाठेघर फाल्नु पर्यो ।’
विगत २ वर्ष देखि नेपालका विभिन्न अस्पतालहरूमा उपचार गराएर निको नभएपछि भारतको सितारगञ्जमा अप्रेशन गरेर पाठेघर फालेपछि पनि क्यान्सर निको नभएपछि अहिले मञ्जुलाई किमो दिइरहनुपरेको छ । बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर हस्पिटलमा गएर उनले किमो चढाउने गरेकी छन् । उनले भनिन् ‘अब त उपचारका लागि पैसा छैन् । गाउँलेले ऋण समेत दिन छोडे ।’
समान्य गरीब घरपरिवारकी बुहारी मञ्जुको आर्थिक अवस्था निकै कमजोर रहेको छ । उनका श्रीमान गोविन्द भट्टको पहिलादेखि नै कानमा समस्या छ । उनी कान सुन्दैनन् । घरबाट छुट्टिएर अलग बस्ने मञ्जुको घरमा दुधे बालक छोरी, क्यान्सर पीडित मञ्जु र कान नसुन्ने श्रीमान छन् । भन्छिन् ‘घरमा कोही छैन् । दुई छोरी छन् । मेरो जीवनमा तलमाथि भयो भने कसले उनीहरुको पालनपोषण गर्ला भनेर पीर लागिरहन्छ । छोरीहरुकै लागि भएपनि बाँच्ने मन छ । तर आर्थिक अभावमा उपचार गराउन निकै समस्या रहेको छ ।’
श्रीमती बिरामी हुनुअघि कानको समस्या रहेका श्रीमान भारतमा मजदुरी गरेर नुन तेल चलाइराख्ने भएपनि श्रीमती बिरामी भएपछि घरमै श्रीमती स्याहार गरेर बस्न बाध्य भएका छन् । विगत २ बर्षको अवधिमा उपचारको क्रममा मञ्जुले ऋण काढेर करीब १२ लाख खर्च गरिसकेकी छन् । ब्याज र पुरानो ऋण नतिरेका कारण पछिल्लो समय ऋणको लागि समेत गाउँलेले पत्याउन छोडेका छन् ।
मञ्जुले समयमै पाठेघरको क्यान्सरको उपचार गर्न नसकेकै कारण पाठेघर फालेपछि पनि क्यान्सर निको भएको छैन् । झन त्यसैमाथि कलेजोमा संक्रमण देखाएपछि मञ्जु जीवन– मरणको लडाँइ लडीरहेकी छन् । तर उनलाई उपचारका लागि आर्थिक अभाव भएको छ । आफ्नो उपचारमा सहयोग गरिदिन उनले सबै सहयोगी महानुभावहरुलाई अपिल समेत गरेकी छन् ।
मञ्जुलाई सहयोग गर्न चहानुहुने महानुभावहरुले मोबाइल नम्बर ९८६८३२२८०७ मा सम्पर्क गर्न सक्नुहुनेछ । यसका साथै नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड सतबाँझमा मञ्जु अवस्थी भट्टको नाममा रहेको खाता नम्बर ०६५०५०५०२७७७६१ मा सहयोग रकम जमा गर्न सक्नुहुनेछ । मञ्जुले भनिन् ‘डक्टरले उपचार गर्न सके राम्रो हुन्छ भनेको छ । तर मसंग किमो लगाउन जाने बसको भाडा समेत छैन् । साहारा रुपी कोही भगवान हुनुहुन्छ भने सहयोग गर्नुस म बाँच्न चाहन्छु ।’




