Sagun Khabar
शोभा मावि पितलथलाको बार्षिकोत्सव सम्पन्न 

बैतडी —बैतडीको दशरथचन्द नगरपालिका १ स्थित शोभा मावि पितलथलाको ६६ औं बार्षिकोत्सव बुधबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर चन्दको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्द प्रमुख अतिथी रहेकी थिइन् । समारोहमा दशरथचन्द नगरपालिका वडा नं १ का वडा अध्यक्ष विष्णुदत्त भट्ट बिशिष्ट अतिथी रहेका थिए । 

विभिन्न सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक जनकबहादुर मडैले ८९ लाख बराबरको आयव्यय विवरण प्रस्तुत गरेका थिए । 

बार्षिकोत्सवमा समारोहमा सचेतनामूलक नाटक समेत प्रस्तुत गरिएको दशरथचन्द नगरबाल सञ्जालका अध्यक्ष उमेश बडूले बताए । 

बार्षिकोत्सवको अवसरमा कक्षा १ देखि १० सम्मका उत्कृष्ट छात्रछात्राहरुलाई विद्यालयका तर्फबाट पुरस्कार वितरण गरिएको शिक्षक समेत रहेका स्थानीय अम्बादत्त बडूले बताए । 

यस्तै समारोहमा विद्यालयका ४ जना उत्कृष्ट छात्रछात्राहरुलाई स्थानीय अभिभावक समेत रहेका भलिबल रेफ्री भुपेन्द्र चन्दले एक हजारका दरले पुरस्कार प्रदान गरेका बडूले बताए । स्वर्गीय दीदी निर्मला चन्दको सम्झनामा उनले पुरस्कार दिएका हुन् । यस्तै स्थानीय अभिभावक नवीन चन्दले कक्षा १ देखि १० सम्म प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्राहरुलाई नगद पुरस्कार प्रदान गरेका छन् । 

कक्षा १० सम्मको पढाई हुने सो विद्यालयमा १६० जना छात्रछात्राहरु अध्ययनरत रहेका छन् । बार्षिकोत्सव समारोहमा बोल्दै दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले विद्यालयको समग्र विकासका लागि आफूले सक्दो पहल गर्ने बताएकी छन् । 
 

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update