बैतडी –बैतडीका १० ओटै स्थानीय तहहरुले भू–वर्गीकरणको कामलाई अघि बढाउने भएका छन् । मंसिर महिनाभित्रै भू –वर्गीकरण गरिसक्नुपर्ने भएपनि अहिले सम्म एउटा पालिकाले पनि भू–वर्गीकरणको काम गरेको छैन् ।
आइतबार बसेको कार्यालय प्रमुखहरुको बैठकमा भू–वर्गीकरणको काम यथाशीघ्र अघि बढाउनुपर्नेमा जोड दिइएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । स्थानीय तहहरुले भू–वर्गीरकरण नगरेकै कारण अशंबण्डा, कित्ताकाट लगायतका कामहरु रोकिएका उनले बताए ।
स्थानीय तहहरुले भू–वर्गीकरण गरी त्यसको जानकारी नापी कार्यालयलाई यथाशीघ्र उपलब्ध गराउनुपर्ने निर्णय भएको छ । आफ्नो पालिकाभित्र रहेको कृषियोग्य जमीन, बाँझो जमीन लगायतको जानकारी भू–वर्गीकरणबाटै थाहा हुने बताइएको छ ।
यस्तै सरकारी कार्यालयका सवारी साधनमा फागुनभित्र इम्बोस्ड नम्बर राखी सक्नुपर्ने निर्णय पनि भएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए ।
यस्तै सरकारी कार्यालयले प्रदान गर्ने सेवा प्रभावकारी बनाउन खाका तयार गर्ने, पूँजीगत बजेट खर्चमा ध्यान दिने, उपभोक्ता समिति मार्फत निर्माण हुने योजनाहरुको प्रभावकारी अनुगमन गर्ने, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुले बिदामा बस्दा जानकारी गराएर बस्नुपर्ने लगायतका निर्णयहरु पनि भएका छन् ।
यस्तै कोरोना महामारीबाट बच्नका लागि स्वास्थ्यका मापदण्ड परिपालनामा ध्यान दिने र आफ्नो क्षेत्रभित्रका बजार अनुगमनका लागि सबै स्थानीयहरुले सक्रिय भएर लाग्नुपर्ने निर्णय समेत भएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए ।





