बैतडी- बैतडीको पाटनका दुई वडामा स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्लाको पाटन नगरपालिका १ र ७ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरबाट २सय ८२ जनाले सेवा लिएका छन् ।
नगरपालिकाको आयोजनामा सञ्चालित निशुल्क स्वास्थ्य शिविरबाट पाटन १ सकारमा रहेको प्रसुतिकेन्द्रमा १ सय ४४ जना र पाटन ७ मा रहेको कैलपाल स्वास्थ्य चौकीमा १ सय ३८ जानले सेवा लिएका पाटन नगरपालिकाका स्वास्थय संयोजक मदन सिंह महराले जानकारी दिए ।
सरुवा रोग भन्दा पनि मधुमेह, मुटु सम्बन्धि र क्यानसर जस्ता नसर्ने रोगहरु पछिल्लो समय बढदै गएकाले नागरिकहरुको स्वास्थ्यलाई ध्यानमा राखेर पाटनले नागरिकहरुको स्वास्थ्य परीक्षण गरिरहेको छ । नगरपालिकाले १० ओटै वडामा निशुल्क स्वास्थ्य शिविर सञ्चालनको तयारी गरेको र अहिले प्रथम चरणमा वडा नं १,५ र ७ मा शिविर सञ्चालन भइरहेको स्वास्थ्य संयोजक महराले बताए ।
यसपछि अन्य वडामा पनि शिविर सञ्चालन हुने उनले बताए । शिविरमा दम तथा फोक्सो सम्बन्धि ,उच्च रक्तचाप, तथा मुटु सम्बन्धि रोगहरु, मधुमेह,बाथ जोर्नि दुखाई, स्तन र पाठेघरको क्यानसर, मानसिक स्वास्थ्य सम्बन्धि सेवा प्रदान गरिदै छ ।
शिविरमा नसर्ने रोगहरुको परीक्षण, उपचार,परार्मश सेवा प्रदानका साथै औषधि समेत वितरण भइरहेका नगरपालिकाका स्वास्थ्य संयोजक महराले बताए । भोलि वडा नं ५ को बसन्तपुर स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुने बताइएको छ । घरपाइकमै निशुल्क स्वास्थ्य सेवा पाउँदा नागरिकहरु पनि खुसि भएका छन् ।




