बैतडी –बैतडीको सिगास गाउँपालिका वडा नं ९ को कार्यालयमा तालाबन्दी गरिएको छ । गाउँपालिकाले निलपाल आधारभूत विद्यालय च्वाँमा अध्यापन गराउदै आएका शिक्षकहरुको दरबन्दी कटौती गरेको भन्दै मंगलबार अभिभावक हरुले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । विद्यार्थी संख्या हुदाँहुदै पनि शिक्षक दरवन्दी कटौती गरेको भन्दै तालाबन्दी गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकर्ण चन्दले जानकारी दिए । उनले भने ‘विद्यालय सञ्चालनमा समस्या भएका बेला पालिकाले दरबन्दी कटौती गरेकाले वडामा तालाबन्दी गरेका हौं ।’
बालविकास सहजकर्ता सहित ५ जना पालिका शिक्षकको दरबन्दी रहेको विद्यालयमा ३ जनाको दरबन्दी कटौती गरिएको शिक्षक लक्ष्मी शाह चन्दले जानकारी दिइन् । पालिकालाई शिक्षकको व्यवस्थापनका लागि अभिभावकहरुले आग्रह गर्दा समेत पालिकाले दरबन्दी कटौती गरेको उनले बताइन् ।
विद्यार्थी संख्याका आधारमा पालिका भित्रका विद्यालयहरुमा दरबन्दी कटौती गरिएको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए । प्रत्येक ३० जना विद्यार्थी बराबर १ शिक्षक राख्ने व्यवस्था मिलाउन खोजिएको उनले बताए ।




