Sagun Khabar
जिल्ला प्रशासन कार्यालय बैतडीमा ‘सूचना प्रविधि सहायता कक्ष’

बैतडी –जिल्ला प्रशासन कार्यालय बैतडीले ‘सूचना प्रविधि सहायता कक्ष’सञ्चालनमा ल्याएको छ । सेवाग्राहीहरुका समस्यालाई ध्यानमा राखेर प्रशासन हाताभित्रै मंगलबारदेखि ‘सूचना प्रविधि सहायता कक्ष’ सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । 

खास गरेर राष्ट्रिय परिचय पत्र र राहदानीको प्रि–इनरोलमेन्ट फारम भर्न सेवाग्राहीलाई समस्या भएको गुनासो आएपछि ‘सूचना प्रविधि सहायता कक्ष’ सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । प्रि –इनरोलमेन्ट फारम भर्न सेवाग्राहीहरुले महंगो शुल्क तिरेर भर्नुपर्ने बाध्यता रहेकाले सो फारम निशुल्क रुपमा भर्नका लागि ‘सूचना प्रविधि सहायता कक्ष’ सञ्चालनमा ल्याइएको हो । 

मंगलबार पहिलो दिन सो कक्षबाट १२ जनाले राष्ट्रिय परिचय पत्रको फारम भरेका छन् भने २ जनाले राहदानी फारम भरेका छन् । यस्तै सूचना प्रविधि कक्षबाट सेवाग्राहीलाई आवश्यक फारमहरु समेत उपलब्ध गराइने प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । 

यसैबीच जिल्ला प्रशासन कार्यालय बैतडीले मंगलबारदेखि ‘टाइम कार्ड’पनि लागू गरेको छ । सेवाग्राहीलाई एकघण्टाभित्रै सेवा प्रदान गर्नका लागि ‘टाइम कार्ड’ लागू गरिएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । 

जिल्ला प्रशासन कार्यालयमा सेवा लिनका लागि पुगेका सेवाग्राहीलाई सम्पूर्ण कागजात पूरा गरेको एकघण्टाभित्रै सेवा दिइने उनले बताए । सेवाग्राहीलाई टोकन उपलब्ध गराइने र सोही टोकनमा समय समेत उल्लेख गर्ने गरेको उनले बताए । 

जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको सजिलोका लागि गरेको कार्यको प्रशंसा हुन थालेको छ । टाढाबाट सेवा लिनका लागि पुग्ने सेवाग्राहीका लागि सूचना प्रविधि कक्ष र टाइम कार्ड प्रणालीले धेरै सजिलो हुने स्थानीय पुष्करराज भट्टले बताए । 
 

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update