Sagun Khabar
बैतडीमा शिक्षक बिष्टका हत्या आरोपीमाथि अनुसन्धानका लागि म्याद थपियो 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका २ ग्वानी घर भएका शिक्षक धनबहादुर बिष्टको हत्या आरोपमा पक्राउ परेका प्रजा बोहरा र बिमला बोहरामाथि थप अनुसन्धानका लागि १० दिनको म्याद थपिएको छ । 

कृष्ण मावि पाटनमा पढाउँदै आएका शिक्षक बिष्टको हत्या आरोपमा पक्राउ परेका बोहरा दम्पतीमाथि थप अनुसन्धानका लागि सोमबार अदालतबाट १० दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । हत्या आरोपी दुवैजनामाथि प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए । 

यही पौष १ गते राति शिक्षक बिष्टको हत्या गरेको अभियोगमा कृष्ण माविको छात्राबास बसेर पढ्दै आएकी बिमला बोहरा र उनका श्रीमान प्रजा बोहरालाई प्रहरीले पौष ७ गते सार्वजनिक गरेको थियो । बोहरा दम्पतीले प्रहरी समक्ष शिक्षक बिष्टको हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी छ । 

पौष २ गतेका दिन शिक्षक बिष्टको शव छात्राबास पछाडी फेला परेको थियो । शिक्षक बिष्टको हत्या भएको भन्दै आफन्तहरुले आन्दोलन समेत गरेका थिए । 
 

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update