Sagun Khabar
जिल्ला अस्पताल बैतडीमा सामाजिक सेवा इकाइबाट निशुल्क सेवा 

बैतडी –जिल्ला अस्पताल बैतडीले सामाजिक सेवा इकाइबाट लक्षित समुदायका नागरिकलाई निशुल्क सेवा दिँदै आएको छ । जेष्ठ नागरिक, अति गरीब, महिला स्वास्थ्य स्वयंसेविका, कैदीबन्दी, सडक दुर्घटनाका घाइते लगायतलाई निशुल्क सेवा दिने गरेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. दिपेश श्रेष्ठले जानकारी दिए । 

यस्तै लैंगिक हिंसा प्रभावित, कुपोषित बालबालिका, प्राकृतिक प्रकोपबाट पीडित व्यक्तिहरु, शहीद परिवार, लोपोन्मुख जातीका व्यक्तिहरुलाई निशुल्क सेवा दिने गरेको डा. श्रेष्ठले जानकारी दिए । 

गएको आर्थिक बर्षदेखि नै सामाजिक सेवा इकाइबाट तोकिएका लक्षित समुदायका नागरिकहरुलाई सेवा दिने कार्य भइरहेको उनले बताए । अस्पताल नयाँ भवनमा सरेसंगै सेवा प्रवाहमा समेत सहजता भएको डा. श्रेष्ठले जानकारी दिए । 

सामाजिक सेवा इकाइ मार्फत निशुल्क उपचार पाउन थालेपछि जेष्ठ नागरिकहरुलाई पनि सहज भएको सामाजिक सेवा इकाइका प्रमुख खेमराज भट्टले बताए । सामाजिक सेवा इकाइबाट निशुल्क सेवा प्राप्त गर्ने व्यक्तिहरुले आफ्नो परिचय खुल्ने कागज सहित अस्पतालमा आए उनीहरुलाई निशुल्क रुपमा सेवा दिने गरिएको भट्टले बताए । 

जिल्ला अस्पतालमा पछिल्लो समयमा सेवामा सुधार भएको भन्दै सेवाग्राही समेत खुसी भएका छन् । अस्पतालले सामाजिक सेवा इकाइबाट निशुल्क सेवा दिन थालेपछि निकै सहज भएको सुर्नया ५ का स्थानीय अर्जुनसिंह मडैले बताए । 

जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा मापदण्डमा देशभरकै दोश्रो स्थानमा पर्न सफल भएको छ । विभिन्न सूचकका आधारमा जिल्ला अस्पताल सुदूरपश्चिममा प्रथम र देशभरीमै दोश्रो स्थानमा पर्न सफल भएको हो । 
 

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update