Sagun Khabar
ठगीधन्दामा संलग्न दार्चुलाका भट्ट कैलालीमा पक्राउ 

बैतडी –विभिन्न ठाउँमा ठगीधन्दा गर्दै आएका एक व्यक्तिलाई कैलाली प्रहरीले पक्राउ गरेको छ । विभिन्न प्रलोभनमा पारेर ठगीधन्दा गर्दै आएका दार्चुलाको लेकम गाउँपालिका १ का ३५ बर्षीय पदमराज भट्टलाई प्रहरीले पक्राउ गरेको हो । 

उनले कैलाली, कञ्चनपुर लगायत ठाउँमा डर,त्रास, धम्की देखाएर ठगी गरेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका भगौडा समेत रहेका भट्टले विभिन्न संघसंस्था हाकिम भन्दै ठगी गरेको प्रहरीले जनाएको छ । उनलाई बिहीबार धनगढी उपमहानगरपालिका वडा नं ३ बाट पक्राउ गरिएको हो । 

ठगीमा संलग्न नटरलाल अर्थात पदमराज भट्टलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले बताए । विभिन्न ठगी र अपराधमा संलग्न उनी यसअघि कारागार बसिसकेका व्यक्ति हुन् । 

पाँच वर्षदेखि सुदूरपश्चिममा बसेर संगठित रुपमै विभिन्न अपराधमा संलग्न रहेको उनलाई आरोप लागेको छ । भट्टले खास गरेर महिलाहरुलाई नजिक बनाएर अश्लिल भिडियो सार्वजनिक गरिदिने धम्की दिँदै ठगी गर्दै आएका थिए । 

नटरलालले अहिलेसम्म डोटी, कैलाली र कञ्चनपुरमा गरी दर्जनौ महिलाहरुलाई ठगी गरिसकेका छन् । महिलाहरुलाई आर्थिक प्रलोभवनमा पारेर नटरलाले संगठित रुपमै ठगी धन्दा चलाइरहेका प्रहरीले बताएको छ ।  

नटरलाल अर्थात पक्राउ परेका भट्टबाट पीडित भएकाहरुलाई उजुरी दिन समेत प्रहरीले आग्रह गरेको छ । प्रमाण सहितको जाहेरी दरखास्त दिन कैलाली प्रहरीले आग्रह गरेको हो । 
 

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update