बैतडी –बैतडीका स्थानीय तहहरुले अहिले सम्म भू–वर्गीकरण गरेका छैनन् । भू–उपयोग ऐन २०७६ र भू–उपयोग नियमावली २०७९ अनुसार भू–वर्गीकरण गर्नुपर्ने भएपनि पालिकाहरुले अहिले सम्म सो काम शुरु गरेका छैनन् ।
नापी विभागले मंसिर मसान्तसम्मको समय दिएर पालिकाहरुलाई आफ्नो क्षेत्रभित्रको भू–वर्गीकरणका लागि पत्राचार गरेको थियो । तर अहिले सम्म जिल्लाको एउटा पालिकाले पनि यो काम शुरु गरेको छैन् ।
पालिकाहरुले स्थानीय तहमा भू–उपयोग परिषद गठन गरेर भू–वर्गीकरणको काम गर्नुपर्ने भएपनि बैतडीका स्थानीय तहहरुले अहिले सम्म सो कार्य नगरेको नापी कार्यालय बैतडीका प्रमुख विवेक चन्दले जानकारी दिए । स्थानीय तहहरुले जग्गाको वर्गीकरण नगर्दा मालपोत र नापी कार्यालयबाट हुने कित्ताकाटको काम रोकिएको उनले बताए ।
स्थानीय तहहरुले भू–वर्गीकरण नगरेका कारण कित्ताकाटको काम रोकिएको नापी अधिकृत चन्दले बताए । उनले भने ‘भू–उपयोग ऐन र नियमावली अनुसार भू–वर्गीकरण नहुँदा कित्ताकाटको काम रोकिएको छ । यसले सेवाग्राहीलाई समस्या भएको छ ।’
भू–वर्गीकरणको काम जिल्लामा अगाडि नबढेका कारण केही दिन पहिला बसेको कार्यालय प्रमुखहरुको बैठकमा पनि यो बिषयले प्रवेश पाएको थियो । भू–वर्गीकरणको कामलाई प्राथमिकतामा राखेर स्थानीय तहहरुले यथाशीघ्र भू–वर्गीकरणको कामलाई अघि बढाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । भू–वर्गीकरणका लागि आवश्यक सबै तयारी गरेर काम अघि बढाउनुपर्ने निर्णय भएको उनले बताए ।
स्थानीय तहहरुले भू–वर्गीकरण गरेमात्रै जमीनको बिषयमा थाहा हुने भएकाले कित्ताकाटको काम रोकिएको नापी अधिकृत चन्दले बताए । भू–वर्गीकरणबाट पालिकाभित्र रहेको कृषियोग्य जमीन लगायत अन्य जमीनका बारेमा थाहा हुने उनले बताए ।




