Sagun Khabar
भारतसंग सीमा जोडिएको बैतडीमा कोरोना खोपको अभाव 

बैतडी –भारतसंग सीमा जोडिएको बैतडीमा कोरोना खोपको अभाव रहेको छ । भारत लगायतका छिमेकी मुलुकहरुमा कोरोनाको नयाँ भेरियन्ट देखिएसंगै कोरोना खोप लगाउन आग्रह गरिएको भएपनि जिल्लामा कोरोना खोपको अभाव रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

सीमा नाका झुलाघाटमा रहेको हेल्थ डेस्कबाटै कोरोना खोप दिने तयारी गरेको भएपनि खोप नहुँदा सो कार्य सञ्चालन हुन नसकेको उनले बताए । उनले भने ‘कोरोना विरुद्धको खोप आइपुगेको छैन् । जिल्लामा हामीसंग मौज्दात खोप छैन् । त्यसैले खोप लगाउने कार्य शुरु हुन सकेको छैन् ।’

स्थानीय प्रशासनले समेत खोप लगाउन छुटेकाहरुलाई आग्रह गर्दै आएको छ । तर जिल्लामा खोपको अभाव रहेको छ । ५ बर्षदेखि ११ बर्ष सम्मका बालबालिकाहरुलाई लगाइने खोप एक÷दुई दिनभित्रै आपूर्ती हुने जानकारी आएको स्वास्थ्य प्रमुख भट्टले बताए । यसअघि खोप लगाउन छुटेका बालबालिकाहरुलाई खोप लगाउनका लागि फाइजर खोप आपूर्ती हुने उनले बताए । 

अन्य उमेर समूहका नागरिकलाई लगाउने कोरोना विरुद्धको खोप भने केही दिनपछि मात्रै आपूर्ती हुने जानकारी प्राप्त भएको उनले बताए । बैतडी भारतसंग सीमा जोडिएको जिल्ला भएकाले सीमा नाकामा भने कडाइ गरिएको छ । झुलाघाट नाकाबाट स्वदेश फर्कनेहरुको कोरोना परीक्षण गरेर मात्रै स्वदेश पठाउने गरेको हेल्थ डेस्कमा कार्यरत हेल्थ असिष्टेन्ट सुरज धामीले बताए । उनले भने ‘हामीले सीमा नाकाबाट फर्कने नागरिकको नियमित रुपमा कोरोना परीक्षण गर्ने गरेका छौं । कोरोनाको रिपोटपछि मात्रै हामीले पठाउने गरेका छौं ।’
 

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  १०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update