बैतडी –बैतडीमा बजार अनुगमनका क्रममा ४ ओटा पसलेलाई कारवाही गरिएको छ । म्याद नाघेका सामग्री विक्रि गर्ने र त्यस्ता सामग्री भण्डारण गरेका पसलेलाई कारवाही गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बजार अनुगमनका क्रममा गढी र गोठलापानीका ४ जना व्यापारीलाई ५ हजारका दरले जरीवाना गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।
अनुगमनका क्रममा म्याद नाघेका सामग्री बरामद गरेर नष्ट समेत गरिएको छ । बजारमा अनुशासन कायम गर्नका लागि बजार अनुगमन कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्लाका विभिन्न ठाउँमा बेलाबेलामा अनुगमन गर्ने गरिएको भएपनि म्याद नाघेका सामग्री विक्रि गर्ने कार्य अझै बन्द हुन सकेको छैन् । मानव स्वास्थ्यमा हानी पुर्याउने म्याद नाघेका सामग्री विक्रि वितरण गर्नेलाई कारवाही गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए ।
सदरमुकाम क्षेत्रकै बजारमा म्याद नाघेका सामग्री विक्रि वितरण भइरहेकाले ग्रामीण क्षेत्रका बजारहरुमा यो भन्दा थप नाजुक अवस्था रहेको सरोकारवालाहरुले बताएका छन् । उपभोक्ताको प्रत्यक्ष स्वास्थ्यसंग जोडिएको बिषयमा स्थानीय सरकारहरुको समेत ध्यान जान सकेको छैन् । स्थानीय तहको क्षेत्रभित्रका बजार स्थानीय तहहरुले अनुगमन गर्नुपर्ने भएपनि यो कार्यमा स्थानीय तहहरुको ध्यान जान सकेको छैन् ।




