Sagun Khabar
बैतडीको जनप्रिय आधारभूत विद्यालयमा अभिभावकले गरे तालाबन्दी
फाइल फोटो

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिका वडा नं. ३ स्थित जनप्रिय आधारभूत विद्यालयमा तालाबन्दी गरिएको छ । विद्यालयमा अनियमितता भएको भन्दै अभिभावकहरुले शुक्रबार विद्यालयमा तालाबन्दी गरेका हुन् । 

विद्यालयका प्रधानाध्यापक गुणा बोहराले अनियमितता गरेको अभिभावकहरुले आरोप लगाएका छन् । पछिल्लो समयमा विद्यालयमा अनियमितता बढ्दै गएको, शैक्षिक गुणस्तर कमजोर हुँदै गएकाले समस्या समाधानको पहलका लागि सम्बन्धित निकायलाई दबाब दिन तालाबन्दी गरेको अभिभावक मदन लुहारले बताए । 

विद्यालयमा देखिएको समस्या समाधानका लागि गाउँपालिकालाई समेत आग्रह गरेको लुहारले बताए । तर विद्यालयमा देखिएको समस्या समाधानका लागि पालिकाले समेत चासो नदेखाएको स्थानीयहरुले आरोप लगाएका छन् । विद्यालयमा सञ्चालन भएको दिवा खाजा कार्यक्रममा समेत अनियमितता भएको अभिभावकहरुको आरोप छ । 

यता गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले विद्यालयमा देखिएको विवादका बिषयमा छलफल गरेर समस्याको समाधान गरिने बताए । विद्यालयमा देखिएको विवादका बिषयमा नियमसंगत तरीकाले छलफल गरेर अघि बढ्ने उनले बताए । विद्यालयमा तालाबन्दी गर्नु उचित कार्य नभएको उनको भनाइ छ । विद्यालयमा व्यवस्थापन समितिले प्रधानाध्यापक परिवर्तन गरेपछि विवाद आएको बताइएको छ । 
 

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update