बैतडी –पछिल्लो समयमा नसर्ने रोगहरुको जनस्वास्थ्यको विकराल समस्या बन्दै गएका छन् । पाटन नगरपालिकाले केही दिन पहिला विभिन्न वडामा सञ्चालन गरेको नसर्ने रोग सम्बन्धि शिविरमा उपचारका लागि आएका धेरैमा नसर्ने रोगको संक्रमण रहेको पाइएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।
शिविरमा आएका धेरै जसोमा नसर्ने रोगहरुको जोखिम रहेको पाइएको महराले बताए । उच्च रक्तचाप, दम, मधुमेह लगायतका रोगहरुबाट नागरिक समस्यामा रहेका उनले बताए । उनले भने ‘नसर्ने रोगहरुको प्रकोप बढ्दै गएको छ ।मानिसहरु युवा अवस्थादेखि नै नसर्ने रोगका शिकार भइरहेका छन् ।’
पछिल्लो समयमा क्यान्सर जस्ता जटील खालका नसर्ने रोगहरुको समेत जोखिम बढ्दै गएको छ । खानपीन, रहनसहन लगायतका कारणले नसर्ने रोगहरुको जोखिम बढ्दै जिल्ला अस्पताल बैतडीका प्रमुख डा. दिपेश श्रेष्ठले जानकारी दिए । सरुवा रोग भन्दा नसर्ने रोगहरु विकराल समस्याको रुपमा देखा पर्दै गएका उनले बताए ।
नसर्ने रोगहरुको उपचार समेत खर्चिलो हुँदा नागरिकलाई समस्या भएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महराले बताए । क्यान्सर, मुटुको रोगहरुको उपचार समान्य नागरिकको पहुँच भन्दा बाहिर रहेको उनले बताए । यस्ता रोगहरुको उपचार निकै खर्चिलो भएकाले सबैको उपचारमा पहुँच पुग्न नसकेको उनले बताए ।
शारीरिक परिश्रम कम हुनु, रेडिमेड खानाको प्रयोग, चिल्लोको अत्यधिक प्रयोग लगायतका कारणले नसर्ने रोगहरुको जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।




