Sagun Khabar
बैतडीमा न्यायिक समितिको निरीक्षण गरिँदै 

बैतडी –बैतडीका स्थानीय तहमा रहेका न्यायिक समितिको निरीक्षण कार्य शुरु भएको छ । जिल्लाका १० ओटै स्थानीय तहमा रहेका न्यायिक समितको निरीक्षण कार्य शुरु भएको जिल्ला अदालत बैतडीका नायब सुब्बा लक्ष्मीदत्त पन्तले बताए । 

जिल्लाका स्थानीय तहमा रहेका न्यायिक समितिहरुको जिल्ला अदालतले निरीक्षण गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । न्यायिक समितिहरुले सम्पादन गरेका मुद्दा सम्बन्धि कामहरुले अदालतले निरीक्षण गर्ने गरेको नायब सुब्बा पन्तले बताए । 

जिल्ला न्यायधिशको नेतृत्वमा जिल्ला अदालतको टोलीले न्यायिक समितिको निरीक्षण गर्ने परम्परा रहेको छ । जिल्ला न्यायधिश जयानन्द पनेरुको नेतृत्वमा रहेको टोलीले शनिबार दोगडाकेदारमा न्यायिक समितिको निरीक्षण गरेको छ । न्यायिक समिति संयोजक एवं गाउँपालिका उपाध्यक्ष पार्वती कार्की लगायत अन्य सरोकारवालाहरुसंग छलफल गरिएको नायब सुब्बा पन्तले बताए । 

चालु आर्थिक बर्षमा दोगडाकेदारको न्यायिक समितिमा अहिले सम्म एउटा मात्रै मुद्दा परेको र त्यो मुद्दा छलफलकै अवस्थामा रहेको बताइएको छ । 

जिल्ला अदालतको टोलीले १० ओटै स्थानीय तहका न्यायिक समितिको निरीक्षण गर्ने तयारी रहेको पन्तले बताए । निरीक्षणका क्रममा न्यायिक समितिले किनारा लगाएका मुद्दाहरु कानुन अनुसार भए÷नभएको हेर्ने गरिन्छ । यसका साथै जिल्ला अदालतले आवश्यक निर्देशन समेत दिने गरेको पन्तले बताए । 

नागरिकहरुलाई नजिकै न्याय सम्पादनको सेवा प्राप्त होस भन्ने हेतुले स्थानीय तहमा न्यायिक समिति रहेका भएपनि न्यायिक समिति प्रभावकारी हुन सकेका छैनन् । आवश्यक जनशक्तिको अभाव, न्यायिक समितिले दिने सेवाको बारेमा जानकारीको अभाव लगायतका कारणले न्यायिक समितिका सेवा कम प्रभावकारी हुँदै गएका बताइएको छ । 

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update