Sagun Khabar
बैतडीको तल्लादेहीस्थित डिलाशैनी मन्दिर सडक सञ्जालमा जोडिदै 
तस्बिर : डिलाशैनी मन्दिरमा सडक बनाउने बिषयमा नगर प्रमुख दिपक बम सहित छलफलमा, फोटो सौजन्य: डिलाशैनी मन्दिरका पूजारी ईश्वरदत्त जोशी

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिका –९ स्थित डिलाशैनी भगवती मन्दिरमा सडक पुर्याइने भएको छ । नगरपालिकाले डिलाशैनी भगवती मन्दिरमा सडक पुर्याउनका लागि काम गरिरहेको नगर प्रमुख दिपकबहादुर बमले बताए । 

एक हप्ताभित्रै मन्दिरमा सडक पुर्याउने योजनाका साथ सडक निर्माणको काम भइरहेको उनले बताए । उनले भने ‘पुर्चौंडी क्षेत्रकै प्रसिद्ध धार्मिक शक्तिपीठको रुपमा रहेको डिलाशैनी मन्दिरमा सडक पुर्याउनका लागि काम शुरु भइसकेको छ । एक हप्ताभित्रै मन्दिरमा सडक पुर्याउने गरेर काम भइरहेको छ ।’

मन्दिरमा सडक पुर्याउने बिषयमा शनिबार त्यहाँका सरोकारवालाहरुसंग छलफल समेत भएको नगर प्रमुख बमले बताए । वडाका जनप्रतिनिधि, स्थानीय सरोकारवाला र स्थानीयबासीहरुसंग छलफल गरेर सडक निर्माणका लागि काम शुरु भइसकेको बताइएको छ ।  

सडक विस्तारका क्रममा सङौडा बस्तीमा देखिएको विवाद समाधान गरेर सडक निर्माण कार्य अघि बढीसकेको वडा नं १ का वडा अध्यक्ष गणेशबहादुर गडालले बताए । विजयपुर सडकखण्डबाट समेत मन्दिरमा सडक पुर्याउनका लागि काम गरिने उनले बताए । 

डिलाशैनी भगवती मन्दिरमा जात्राका बेला धेरै ठाउँबाट भक्तजनहरु आउने भएकाले सडक निर्माणले धार्मिक पर्यटकहरुलाई सहज हुने डिलाशैनी भगवतीका पूजारी ईश्वरदत्त जोशीले बताए । मन्दिरमा सडक पुग्ने खबरले स्थानीयबासी हर्षित भएका उनले सुनाए । 
 

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update