Sagun Khabar
बैतडीमा तपाँईको मास्क खोइ ? अभियान सञ्चालन 

बैतडी –भारतसंग सीमाना जोडिएको बैतडीमा तपाँईको मास्क खोइ ? अभियान सञ्चालन भएको छ । कोरोना भाइरसको जोखिम कम गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयको अगुवाईमा अभियान सञ्चालन भएको हो । 

अभियान अन्तर्गत आइतबार जिल्लाको गोठलापानी बजार सवारी चालक, सहचालक, यात्रु तथा अन्य सर्वसाधारणलाई मास्क वितरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक दशरथ नाथले बताए । 

कोरोना भाइरसको जोखिम कम गर्नका लागि जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने भएकाले त्यो बिषयमा सबैलाई जानकारी दिनका लागि अभियान सञ्चालन गरिएको नाथले बताए । गोठलापानीमा आज ५ सय जनालाई मास्क वितरण गरिएको उनले बताए । 

छिमेकी देश भारत लगायतका देशहरुमा कोरोनाको नयाँ भेरियन्ट देखिएकाले यसबाट बच्नका लागि जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । स्थानीय प्रशासनले समेत जनस्वास्थ्यका मापदण्ड पालना गर्नका लागि सबैलाई आग्रह समेत गरेको थियो । 

यस्तै जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसबाट बच्नका लागि पूर्व तयारी गर्ने निर्णय गरेको छ । केही दिन पहिला सम्पन्न भएको बैठकले कोरोनाको सम्भावित जोखिमबाट बच्नका लागि स्थानीय तहहरुले पूर्वतयारी गर्नुपर्नेमा जोड दिइएको छ । 

कोरोना भाइरसको जोखिम भएकाले भीडभाड नजान, जानै परे मास्क लगाएर मात्रै जान आग्रह गरिएको छ । यसका साथै सेनेटाइजरको प्रयोग र भौतिक दुरी कायम गर्न समेत स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । 

बैतडीमा अहिले कोरोनाबाट १९ जनाको ज्यान गइसकेको छ । कोरोना भाइरसको जोखिम अझै पनि कायमै रहेकाले यसबाट बच्नका लागि जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । 
 

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update