Sagun Khabar
बैतडीको सुर्नयाका कर्मचारीले गरे क्यान्सर पीडित मञ्जुलाई आर्थिक सहयोग 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकाका कर्मचारीहरुले क्यान्सर पीडित मञ्जुलाई आर्थिक सहयोग गरेका छन् । सुर्नया ४ मेलडुङरा घर भएकी क्यान्सर पीडित मञ्जु अवस्थी भट्टको आर्थिक अभावले उपचारमा समस्या भएको खबर सुनेपछि आफुहरुले आर्थिक संकलन गरेर सहयोग गरेका गाउँपालिकाका सबओभरसियर  प्रकाश  सिंह महराले जानकारी दिए  ।

उनका अनुसार १३ जना कर्मचारीबाट संकलन भएको ७ हजार ९ सय ३० रुपैँया नेपाल इन्भेष्टमेन्ट बैँक सतबाँझमा रहेको मञ्जुको खातामा जम्मा गरिएको छ ।  सबओभरसियर  महराको संयोजक्त्वमा  आर्थिक संकलन भएको हो 

उपचारमा केहि राहत पुगोस भनेर आफुहरुले  आर्थिक सहयोग गरेका सबओभरसियर  महराले बताए । २४ बर्षको कलिलो उमेरमै मञ्जुलाई पाठेघरको क्यान्सर भएको छ । क्यान्सरका कारण पाठेघरको अप्रेशनपछि किमो लगाउन उनलाई आर्थिक समस्या छ । 

आर्थिक अभावले  उपचारमा समस्या भएपछि अहिले सहयोग अभियान सञ्चालनमा रहेको छ । अभियान अन्तर्गत रोजगारीका सिलसिलामा विदेशमा रहेका नेपाली र स्वदेशमा रहेकाहरुले सहयोग प्रदान गरिरहेका छन् । दुई छोरीकी आमा समेत रहेकी मञ्जुको आर्थिक अवस्था निकै नाजुक भएपछि उनको जीवन रक्षाका लागि आर्थिक सहयोग संकलन अभियान सञ्चालन भइरहेको हो । 

मञ्जुले बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर हस्पिटलमा गएर किमो लगाउने  गरिरहेकी छन् । भारतको सितारगञ्जमा उपचारका लागि पुगेपछि उनलाई क्यान्सर भएको पुष्टि भएको थियो । 
 

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update