Sagun Khabar
दार्चुलामा नेपाल–भारतबीच सम्बन्ध सुधारका लागि छलफल 

दार्चुला –महाकाली नदीमा भारतले निर्माण गरिरहेको तटबन्धको विषयलाई लिएर नेपाल र भारतका स्थानीय नागरिकबीचको सम्बन्ध बिग्रीरहेका बेला दुवै देशका अधिकारीहरुले सम्बन्ध सुधारका लागि पहल भइरहेको छ । 

भारतले महाकाली नेपालतर्फ फर्काउन संरचना बनाइरहेको भन्दै दार्चुलाबासी विरोध गरिरहेका छन् । उनीहरुले संरचना निर्माणमा समेत अवरोध पुर्याउँदै आएका छन् । 

तटबन्ध निर्माणकै बिषयमा सीमा क्षेत्रका बासिन्दाबीच कटुता उत्पन्न भएपछि त्यसलाई सुधार गर्न दुवै क्षेत्रका प्रशासनहरुले पहल थालेका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

सीमा क्षेत्रका नेपाली र भारतीयबीचको सम्बन्ध सुधारका लागि आइतबार दार्चुलामा छलफल समेत भएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाको समन्वयमा भारतीय अधिकारीसहित नेपाल र भारतका नागरिकबीच छलफल भएको हो । 

तटबन्ध निर्माणले जनस्तरमा बिग्रिदै गएको सम्बन्ध सुधारका लागि छलफल गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । उनले भने ‘तटबन्ध निर्माणको बिषयले दुवै देशका नागरिकबीच सम्बन्ध बिग्रिनु हुँदैन भनेर हामीले छलफल चलाएका हौं । महाकालीको धारलाई असर नपार्ने गरी काम गर्न दिने बिषयमा दुवैतिरका स्थानीय सहमत भएका छन् ।’

छलफलमा भारतका तर्फ धार्चुलाका स्थानीय, एसडीएम, तटबन्ध निर्माण कम्पन्नीका प्रतिनिधि तथा नेपालतर्फबाट स्थानीय, सीडिओ, जनप्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । 

छलफलका क्रममा नेपाली नागरिकहरुले भारतले बनाएका अस्थायी संरचना हटाउनुपर्ने माग गरेका छन् । यो बिषयमा भारतीय पक्ष समेत सकारात्मक रहेको बताइएको छ । 

महाकाली नदीले दार्चुला र धार्चुला दुवैतिर क्षति नगर्ने गरी तटबन्ध निर्माणको काम अगाडि बढाउनु पर्ने दुवै देशका स्थानीयको माग छ ।

विवाद पछि रोकिएको तटबन्ध निर्माणको काम पनि सुचारु गर्न दुवै देशका नागरिक सहमत भएका छन्। । यस्तै, तटबन्ध निर्माणको क्रममा कुनै विवाद आए दुवैतर्फका प्रशासनलाई जानकारी गराएर छलफल गर्ने सहमती पनि सो बैठकमा भएको छ । 

भारतको एकपक्षीय तटबन्ध निर्माणको कामले विवाद उत्पन्न भएपछि नेपाल र भारतका स्थानीय अधिकारीहरुले गत मंसिरमा पनि छलफल गरेका थिए ।

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  ०७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update