बैतडी- बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ३ स्थित जनप्रिय आधारभूत विद्यालयको पठनपाठन प्रभावित भएको छ । अभिभावकहरुलेनै विद्यालयमा तालाबन्दी गरिदिएपछि विगत पाँच दिन देखि पठनपाठन प्रभावित भएको हो । पठनपाठन अवरुद्ध भएपछि विद्यार्थी पढाइबाट वञ्चित भएका छन् ।
गत शुक्रबार देखि अभिभावकहरुले विद्यालयमा तालाबन्दी गरेपछि विद्यालयमा पठनपाठन प्रभावित भएको शिक्षकहरुको भनाई छ । तालाबन्दीले पठनपाठन अवरुद्ध भएपछि बालबालिकाहरु समस्या परेका हुन् । प्रधानाध्यापकले अनियमितता गरेको भन्दै अभिभावकहरुले गत शुक्रबार विद्यालयमा तालाबन्दी गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक गुणा बोहराले अनियमितता गरेको अभिभावकहरुको आरोप छ । तर प्रधानाध्यापक बोहराले आफुले अनियमितता नगरेको भन्दै आफु माथि झुटा आरोप लगाएको बताइन् । विगत पाँच देखि तालाबन्दी भएपनि ताला खोल्न सम्बन्धित निकायको ध्यान जान सकेको छैन् ।
विद्यालयमा देखिएको समस्या समाधानका लागि गाउँपालिकाले समेत चासो नदेखाएको आरोप छ । पालिकाले विवाद समाधान नगर्दा विद्यार्थीहरु समस्यामा परेका छन् । वडा अध्यक्ष रघुबिर बोहराले भने तालाबन्दी खोल्नका लागि पहल गरिने बताएका छन् ।
पठनपाठन सुचारु गर्न आफुले आग्रह गरेपनि अन्दोलन कर्ताहरुले नमानेका उनको भनाई छ । कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयमा करिब ८० जना विद्यार्थी अध्यानरत रहेका बताइएको छ ।





