बैतडी –बैतडी धार्मिक पर्यटनको उच्च सम्भावना बोकेको जिल्ला हो । यो जिल्लामा सात भाइ केदार र सात बैनी भगवतीका मन्दिर भएकाले यहाँ धार्मिक पर्यटनको प्रशस्त सम्भावना रहेको छ । जिल्लाको सिगास गाउँपालिका मुख्य धार्मिक क्षेत्र सिगास धुराकै नामबाट नामाकरण गरिएको छ । जिल्लाको सबैभन्दा अग्लो ठाउँमा अवस्थित सिगास धुरा धाम सिगास गाउँपालिकामा पर्दछ । सिगासको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएकाले त्यहाँ टाढाटाढाबाट समेत भक्तजनहरु पुग्ने गरेका छन् ।
समुद्री सतहबाट २ हजार ९ सय मिटर उचाइमा रहेको सिगास धुरा जिल्लाको सबैभन्दा उच्च स्थानमा रहेको धार्मिक स्थल हो । सिगासको कुर्चेनेटा सम्म अहिले कच्ची सडक पुगेको छ । त्यहाँबाट पैदल हिँडेर सिगास धुरा पुग्न सकिन्छ ।
परापूर्वकालमा कैलाशबाट भगवान शिव सिगास धुरामा आएका जनविश्वास रही आएको छ । बोहरा थरका व्यक्तिले सिगास देवता पाएको किम्वदन्ती रहेको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए ।
उनले भने ‘सिगास धुरा धामको धेरै ठूलो महत्व रहेको छ । सिगासको दर्शनका लागि टाढाटाढाबाट भक्तजनहरु आउने गरेका छन् ।’सिगास धुरामा हरेक बर्ष असोज शुक्ल पक्षको पञ्चमीदेखि पूजा लागेर असोजको शुक्ल अष्टमीमा जात्रा हुने गरेको छ । यस्तै चैत्राष्टमीमा पनि मन्दिरमा जात्रा हुने गरेको पूजारी चुडामणी अवस्थीले बताए । यसका साथै सिगास धुरामा साउनको महिना भारत सहित नेपालका विभिन्न ठाउँबाट दर्शनार्थीहरु पुग्ने गरेका उनले बताए ।
उनले भने ‘सिगास धुरामा भारतबाट समेत दर्शनार्थीहरु पुग्ने गरेका छन् । साउनको महिनामा दर्शन गर्नेहरुको घुइँचो लाग्ने गरेको हुन्छ ।’प्राकृतिक हिसाबले पनि निकै मनोरम दृश्य भएको ठाउँमा सिगास धुरा धाम रहेको छ । यसको चारैतिर जंगल रहेको छ । प्राकृतिक सौन्दर्यताका हिसाबले समेत सिगास धुरा निकै रमणीय रहेको अध्यक्ष धामीले बताए । उनले भने ‘सिगास धुरा अलौकिक धाम हो । जहाँ साक्षात भगवान शिवको बास रहेको छ । यहाँका स्थानीयहरुको पनि श्रद्धा र आस्था रहेको छ ।’
धार्मिक पर्यटकीय क्षेत्र बनाइने
धार्मिक महत्व बोकेको सिगास धुरालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने सिगास गाउँपालिकाले योजना बनाएको छ । सिगास धुरालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि गाउँपालिकाले गुरुयोजना बनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविन्द्रप्रसाद ओझाले बताए । उनले भने ‘गाउँपालिकाको मात्रै नभएर सुदूरपश्चिम क्षेत्रकै प्रसिद्ध धार्मिकस्थल सिगास धुराको गुरुयोजना बनाएका छौं । त्यहाँ पुग्ने बाटो लगायत अन्य पूर्वाधार निर्माणका लागि हामीले गुरुयोजना बनाएका छौं ।’सिगास धुरा धामलाई प्रमुख धार्मिक गन्तव्यको रुपमा विकास गर्नका लागि सिगास गाउँपालिकाले पहल गरिरहेको अध्यक्ष हरिसिंह धामीले बताए ।
उनले भने ‘हामीले यो क्षेत्रको अगाध श्रद्धास्थलको रुपमा रहेको सिगास धामको संरक्षण र प्रचारप्रसारका लागि काम गरिरहेका छौं । सिगास धामको महत्व मात्रै हामीले बुझाउने धार्मिक पर्यटकहरुको यो रोजाइको केन्द्र बन्न सक्छ ।’ सिगास धुरालाई धार्मिक पर्यटकीय क्षेत्र बनाउनका लागि सबैले सहयोग गर्नुपर्ने सिगास गाउँपालिकाका प्रवक्ता अमरसिंह धामीले बताए । धार्मिक पर्यटकहरु भित्र्याउन सके यो क्षेत्रका आर्थिकस्थितीमा समेत सुधार आउने उनले बताए ।
अस्थाको धरोहर
जिल्लाको दुर्गम पालिका भनेर चिनिने सिगासमा सिगास धामप्रति भने स्थानीयहरुको अगाध श्रद्धा रहेको पाइन्छ । सिगास धुरा धामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको पूजारी चुडामणी अवस्थीले बताए । उनले भने ‘सिगास धुराको दर्शन गरेमा अहिले सम्म मनोकामना पूर्ण भएको छ । शुद्ध मनले सिगासको दर्शन गरेमा मनोकामना पूर्ण हुन्छ ।’सिगासको दर्शनका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेका छन् ।
यसले नै सिगास धुराको दर्शन गरेमा मनोकामना पूर्ण हुन्छ भन्ने कुरालाई पुष्टि गरेको सिगास गाउँपालिकाका अध्यक्ष धामीले दाबी गरे । उनले भने ‘स्थानीयहरुमा मात्रै नभएर सिगास धामप्रति धेरैको आस्था रहेको छ । सिगास धामलाई आस्थाको धरोहरको रुपमा लिन सकिन्छ ।’ सिगास धामको दर्शनका लागि स्थानीयहरु मात्रै नभएर टाढा दर्शनार्थी समेत पुग्ने गरेका स्थानीय कृष्णसिंह धामीले बताए । उनले भने ‘सिगासको दर्शनका लागि सबै ठाउँबाट दर्शनार्थीहरु आउने गरेका छन् । सिगास सबैको आस्थाको धरोहर हो ।’





