बैतडी- बैतडीको सुर्नया गाउँपालिका २ घरभएका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न दम्पतीलाई कारागार चलान गरिएको छ । कृष्ण मावि पाटनमा पढाउँदै आएका शिक्षक बिष्टको हत्या आरोपमा पक्राउ परेका पुर्चौडी नगरपालिका ३ का प्रजा बोहरा र उनकी श्रीमती बिमलाई बोहरलाई मंगलबार पूर्पक्षका लागि कारागार चलान गरिएको हो ।
प्रहरीले आफ्नो अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको र मंगलबार जिल्ला अदालतले दुवैजनालाई पुर्पक्षका लागि कारागार चलान गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।
सुर्नया गाउँपालिका– २ घर भएका ५५ वर्षीय शिक्षक यही पुस २ गते श्रीकृष्ण माविको छात्रावास पछाडि मृत अवस्थामा भेटिएका थिए । त्यसपछि शिक्षकको हत्यामा संलग्न रहेको आरोपमा बोहरा दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात् बोहरा दम्पतीले हत्या गरेको स्वीकारेपछि प्रहरीले पुस ७ गते पत्रकार सम्मेलन गरी सावर्जनिक गरेको थियो ।
कृष्ण मावि पाटनमा कम्प्युटर डिप्लोमा चौँथो वर्षमा अध्यायन गरिरहेकी बिमला छात्रावासमा बस्दै आएकी थिइन् । उनका श्रीमान् पनि भेटघाटका लागि पाटन पुगेर छात्राबासमै बसेका थिए । छात्राबासमै बस्दै आएका शिक्षक विष्टले पुस १ गते राति पौने १० बजे शौचालय गएकी बिमलालाई अंगालो हाली दुर्व्यवहार गरेको प्रजाले देखेको र त्यसपछि आक्रोशित भएका प्रजाले विष्टको छाती, मुखमा हिर्काएर हत्या गरेको प्रजाले प्रहरीसमक्ष बयान दिएका छन् । विष्टको मृत्यु भएपश्चात शवलाई प्रजा र बिमलाले केत्तुकेको झारीमा फालेका जनाइएको छ ।





