Sagun Khabar
खडेरीले सुक्यो गहुँबाली, किसान चिन्तित 

बैतडी –लगातारको खडेरीले बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा गहुँबाली सुकेको छ । यो बर्ष हिउँदे बर्षा नहुँदा गहुँबाली सुकेको किसानहरुले बताएका छन् । माघ लागिसक्दा समेत यो बर्ष हिउँदे बर्षा भएको छैन् । लगातारको खडेरीले गहुँबाली सुकेको दशरथचन्द नगरपालिका १ का किसान कृष्णदत्त भट्टले बताए । यति लामो खडेरी अहिले सम्म नपरेको उनले बताए । उनले भने ‘यो बर्ष खडेरीका कारण गहुँबाली सुकेको छ । खेत बाँझै भएका छन् । गहुँबाली सुकेपछि के खाने भन्ने चिन्ताले सताउन थालेको छ ।’

सिँचाइको सुविधा नभएका ठाउँमा खडेरीको प्रभाव बढी परेको किसानहरुले बताएका छन् । सिँचाइ सुविधा नभएकै कारण खेतमा लगाएको गहुँबाली सुकिसकेको सुर्नयाका किसान देवदत्त अवस्थीले बताए । उनले भने ‘खडेरीका कारण अधिकांश गहुँबाली सुकिसकेको छ । अझै पानी पर्ने छाँटकाँट देखिएको छैन् । यो बर्ष भोकमरी हुने सम्भावना देखिएको छ ।’

लगातारको खडेरीले गहुँबाली सुकेपछि घरपरिवार कसरी पाल्ने भन्ने चिन्ता थपिएको दशरथचन्द नगरपालिका २ का किसान गणेशबहादुर बोहराले बताए । खडेरीका कारण जनजीवन प्रभावित भएको उनले बताए । 

सिँचाइ सुविधा नभएका उच्च लेकाली र हिमाली क्षेत्रमा गहुँबाली सुकेको किसानहरुले बताएका छन् । हिमपात हुने समयमा पानी समेत नपरेपछि बालीनाली हुर्कन नपाएको किसानहरुको भनाइ रहेको छ । 

बर्खेबाली मध्येको मकैमा जंगली जनावर क्षति पुर्याउँदा हरेक बर्ष उत्पादनमा कमी आउने गरेको छ । हिउँदमा खडेरीका कारण गहुँ उत्पादनमा कमी आउने गरेको किसानहरुले बताएका छन् । 

बैतडीमा १७ हजार ५ सय हेक्टर जमीनमा गहुँखेती हुँदै आएको छ । यो मध्ये ८ हजार ५ सय हेक्टरमा मात्रै सिँचाइ सुविधा रहेको छ । सिँचाइ सुविधा नभएका ठाउँमा खडेरीको प्रभाव परेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख मिलन कँडेलले जानकारी दिए । उनले भने ‘खडेरीका कारण गहुँबाली उत्पादनमा ह्रास आउन सक्छ । लगातारको खडेरीले गहुँबालीमा नराम्रो प्रभाव परेको छ ।’

खडेरीका कारण हिउँदेबालीको उत्पादनमा कमी आउने भएपनि खाद्यान्न आयातमा वृद्धि हुने भएको छ ।
 

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update