Sagun Khabar
उद्योग मन्त्री भण्डारीले गरे पदभार ग्रहण 

बैतडी –उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले पदभार ग्रहण गरेका छन् । उद्योग मन्त्रीमा नियुक्त भएपछि मन्त्री भण्डारीले आजै (मंगलबार) मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेको एमाले बैतडीका प्रचारप्रसार विभाग प्रमुख लोकेन्द्र भण्डारीले बताए । 

गएको पुस ११ गते मन्त्री पदमा नियुक्त भएका भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयको जिम्मेवारी पाएका हुन् । कार्य विभाजन भएसंगै भण्डारीले उद्योग मन्त्रीको रुपमा कार्यभार सम्लाहेको प्रचार विभाग प्रमुख भण्डारीले बताए । 

मन्त्री भण्डारीले मन्त्रालय पदभार ग्रहण गर्दै एक पालिका एक औद्योगिक ग्राम कार्यक्रमलाई दृढताका साथ अघि बढाउने बताएका छन् । आफ्नो कार्यकालमा एक पालिका एक औद्योगिक ग्राम कार्यक्रमलाई सम्पन्न गरेर स्थानीयस्तरमै रोजगारीको अवसर सिर्जना गर्नका लागि पहल हुने उनले बताए । 

बैतडीबाट संघीय संसदमा लगातार तेश्रो पटक निर्वाचित भएका भण्डारी एमाले सुदूरपश्चिम प्रदेश कमिटिका अध्यक्ष समेत रहेका छन् । गएको मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा उनी माओवादी केन्द्रका नरेन्द्र कुँवरलाई पराजित गर्दै विजयी भएका हुन् । 

भण्डारी उद्योग मन्त्रीमा नियुक्त भएपछि उनको गृह जिल्ला बैतडीमा खुसीयाली भएको छ । भण्डारी मन्त्री भएसंगै उनले निर्वाचनका बेला गरेका बाचा पूरा हुने आसा पलाएको मतदाताहरुले बताएका छन् । 

यस्तै बैतडीमा थुप्रै उद्योगहरुको सम्भावना रहेकाले त्यो तर्फ मन्त्रीको ध्यान जाने स्थानीय नागरिकको विश्वास रहेको छ । बैतडीमा फलाम खानी, फस्फोरस खानी लगायतका खानीहरुको सम्भावना रहेकाले ती खानीहरुको उत्खनन गरी उद्योग स्थापना हुने आसा जागेको स्थानीयहरुको भनाइ छ । 

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update