Sagun Khabar
बैतडीको पाटनमा अपहेलित गाउँका नाम परिवर्तन गर्ने कार्य  जारी

बैतडी-बैतडीको पाटन नगरपालिकाले अपहेलित गाउँका नाम परिवर्तन गरिरहेको छ । नगरपालिकाले जात,धर्म, सम्प्रदाय बिशेषलाई होच्याउने गरेर राखिएका टोलका नाम परिवर्तन गरिरहेको हो । 

बुधबार पाटन नगरपालिका वडा नं १ को ल्वारभाँ टोलको नाम परिवर्तन गरि ‘रामपुर सकार’ राखिएको पाटन  नगरपालिकाका उपप्रमुख कमल बोहरा (अपिले) जानकारी दिए । सम्बन्धित गाउँमै पुगेर स्थानीय नागरिकको भेला बोलार गाउँटोलका नाम परिवर्तन भइरहेका छन् ।

यसअघि नगरपालिका वडा नं ५ र ६ का विभिन्न टोलका नाम परिवर्तन गरिएका थिए । नगरपालिकाले अपहेलित गाउँका नाम परिवर्तन गर्ने निर्णय अनुसार टोलका नाम परिवर्तन भइरहेका उप प्रमुख बोहराले बताए । अहिले सम्म ७ ओटा अपहेलित गाउँका नाम परिवर्तन भइसकेका उनले बताए । यसअघि वडा नं ५को अपहेलित गाउँको  नाम परिवर्तन गरेर  सृर्जना टोल राखेको थियो । 

त्यस्तै पाटन नगरपालिका वडा नं ६ स्थित भट्टाड टोलको नाम परिवर्तन गरी बयलबाटा, भण्डारी गाउँ–भुल्यौडा टोलको नाम परिवर्तन गरी खसरबाटा टोल, भुल्यौडा टोलको नाम परिवर्तन गरी ढुंगे ओखल टोल र औज्यौडा टोलको नाम परिवर्तन गरी तीलगाउँ टोल राखिएको थियो ।

अब नगरपालिकाले पत्राचार गर्दा नयाँ नामले पत्राचार गर्ने छ । नगरपालिकाका १० ओटै वडामा रहेका अपहेलित गाउँ÷टोलका नाम परिवर्तन गरिने पाटन नगरपालिकाले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update