बैतडी- बैतडीमा लौठ्सल्ला संरक्षसणका लागि तालिम दिइएको छ । औषधीय गुण भएको लौठ्सल्ला संरक्षणका लागि नागरिकहरुलाई सचेतना तालिम दिइएको हो ।
वनस्पती अनुसन्धान केन्द्र कैलालीले सुर्नयाको वडा नं ८ मा रहेको राष्ट्रिय वनका उपभोक्ताहरुलाई सचेतना तालिम दिएको बैतडीका स्थानीय एवं वनस्पती अनुसन्धान केन्द्र कैलालीका प्रमुख गंगादत्त भट्टले जानकारी दिए । डिभिजन वन कार्यालय बैतडी र सुर्नया गाउँपालिका वडा नं ८ को सहयोगमा उपभोक्ताहरुलाई सचेतना तालिम दिइएको उनले बताए ।
वनफडानीका कारण लोप हुँदै गएको औषधीय गुणयुक्त लौठ्सल्लाको संरक्षण होस् भन्ने उदेश्यले नागरिकहरुमा सचेतना फैलाइएको उनले बताए । तालिममा लौठ्सल्लाका फाइदाका बारेमा नागरिकहरुलाई जानकारी गराएर संरक्षणमा जोड दिन आग्रह गरिएको उनले बताए । लौठ्सल्लाका पातबाट क्यान्सरको औषधी बन्न्ने गरेको वनस्पती अनुसन्धान केन्द्र कैलालीका बोटानिष्ट कृष्णबहादुर बुढा थोकीले बताए ।
लौठ्सल्लामा ‘ट्याक्सोल’ भन्ने रसायनिक तत्व पाइने र त्यसले क्यान्सर रोग निको पार्न मद्धत गर्ने उनले बताए । यो वनस्पतिको पातमा सो तत्व पाइने गरेको उनको भनाई छ । अर्वुद रोग निको पार्न लौठ्सल्लाको प्रयोग गरिने भन्दै उनले यसको औषधी बाहिर गएर बन्ने गरेको बताए । उनका अनुसार पश्चिमी हिमालमा पाइने लौठ्सल्लाबाट पाठेघर, फोक्सो, स्तन, टाउको, प्रोस्टेट छाला, अन्ननलिको क्यान्सर निको पार्ने औषधी बन्छ ।
बैतडी जिल्लाको पुर्चौडी नगरपालिका र सुर्नया गाउँपालिकाको सामुदायिक र राष्ट्रिय वनमा लौठ्सल्लाका विरुवाहरु रहेका छन् । पुर्चौडी ६ स्थित बसन्त हरियाली सामुदायिक वन र सुर्नया गाउँपालिका भित्रका रौलाकेदार र ढोल्यामोड स्थित राष्ट्रिय वनमा औषधीय गुणभएका लौठ्सल्लाका विरुवा छन् । पछिल्लो समय अनावश्यक वनफाडानिका कारण यो वनस्पति संकटमा परेको छ ।
यसको महत्व थाहा नपाउँदा नागरिकहरुले संरक्षणमा ध्यान नदिएका बेला यसको महत्व र फाइदाका बारेका जानकारी गर्न थालिएको वनस्पती अनुसन्धान केन्द्र कैलालीले जानाएको छ । लौठ्सल्लाको संरक्षण गर्न सके भोलि नागरिकहरुलाई आयआर्जनमा सहयोग मिल्ने बनस्पती अनुसन्धान केन्द्र कैलाली प्रमुख भट्टको भनाई छ । जिल्लामा औषधीय गुण भएको लौठ्सल्ला भएकाले यसको संरक्षण गरे निकट भविष्यमै आर्थिक समृद्धि हाशिल गर्न सकिने उनले बताए ।
आर्थिक विकासमा टेवा पुर्याउने खालका जडिबुटीयुक्त यस्ता वनस्पति संरक्षणमा स्थानीय सरकार लगायत सबैले ध्यान दिनु पर्नेमा उनले जोड दिए । वन ऐन २०७६ तथा नियमावली२०७९अन्तर्गत संरक्षणको सूचिमा रहेको लौठ्सल्ला नेपालको आर्थिक विकासका लागि प्राथमिकता प्राप्त जडिबुटीको सूचाीमा छ । वनस्पती अनुसन्धान केन्द्र कैलालीले लोपउन्मुख वनस्पतिको अनुसन्धान गर्ने र सोको संरक्षणका लागि सचेतना जगाउने काम गर्दै आएको छ ।





