बैतडी- बैतडीका विष्ट विश्व हिन्दु युवा संघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । जिल्लाको पाटन नगरपालिका वडा नं ८ जुकेपानी घर भएका लाकेन्द्र बहादुर विष्ट विश्व हिन्दु युवा संघको केन्द्रीय सदस्यमा मनोनित भएका हुन् ।
धर्म संस्कृतिको संरक्षण र जगेर्नामा लागेको भन्दै विश्व हिन्दु युवा संघले विष्टलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।संघका केन्द्रिय अध्यक्ष ऋषिकेशजंग शाहद्वारा हस्ताक्षरित पत्रमा विष्ट केन्द्रीय सदस्यमा मनोनित गरेको उल्लेख छ । केन्द्रीय सदस्यमा मनोनित भएका विष्टले हिन्दु धर्मको संरक्षणका लागि आफूले पहल गर्ने बताए ।
उनले सगरमाथाको देश नेपाल भनेर विश्व सामु चिनिने हाम्रो देशलाई विश्वको एक मात्रै वैद्दिक सनातन राष्ट्र भनेर चिनाउनु पर्नेमा जोड दिए । हामी भित्रको धार्मिक सहिष्णुता मानवीय सद्भाव राष्ट्र र धर्म प्रतिको मायालाई उजागर गरि देशको पहिचानलाई अझ सबल बनाउन भुमीका निर्वाह गर्ने उनले बताएका छन् ।
यस अघि दशरथचन्द नगरपालिका वडा नं १ गुरुखोला बस्ने अमरबहादुर टेर पनि विश्व हिन्दु युवा संघको केन्द्रीय सदस्यमा मनोनित भएका थिए । हिन्दु धर्मको संरक्षण र सम्वद्र्धनमा लागेको विश्व हिन्दु युवा संघले देशैभरी आफ्नो संगठन विस्तार गरिरहेको छ ।





