बैतडी - बैतडी सहित सुदूरपश्चिमका पहाडि जिल्लाहरुमा वर्षासंगै हिमपात भइरहेको छ । अहिले बैतडी सहित सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा वर्षसंगै हल्का देखि मध्यम हिमपात भइरहेको हो । बैतडी सहित सुदूरपहाडका उच्च भुभागहरुमा हिमपात समेत भइरहेको छ । बैतडीको खोड्पे अनराखोली , श्रीभावर लगायतका उच्च लेकाली भूभागमा अहिले हिमपात भइरहेको हो ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण त्यस क्षेत्रमा वर्षा र हिमपात भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताए । यस्तै, लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रमा पनि हल्का वर्षाको अनुमान छ । वर्षा भएका ठाउँमा मेघगर्जनको पनि सम्भावना रहेको मौसमविद् मानन्धरले बताए ।
गण्डकी प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली भए पनि गण्डकीमा पानी पर्ने अनुमान भने गरिएको छैन । हाल देशको पश्चिमी भू–भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै भू–भागमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ ।





