Sagun Khabar
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आज पनि वर्षा र हिमपातको  सम्भावना

बैतडी -सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आज पनि वर्षा र हिमपातको  सम्भावना रहेको  छ । पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण अस्ति रातिदेखि यी प्रदेशका केही ठाउँमा अहिले  पनि वर्षा भइरहेको हो ।

यो प्रणाली पूर्वतर्फ सर्ने क्रममा रहेकाले आज गण्डकी प्रदेशमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । वर्षा भइरहेका ठाउँमध्ये बाजुरामा सबैभन्दा धेरै पानी परेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा १६ मिलिमिटर वर्षा भएको मापन गरिएको छ ।

मौसमविद् श्रेष्ठका अनुसार अन्य प्रदेशमा भने पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव पर्ने देखिएको छैन । यो प्रणाली आज बेलुकादेखि नै कमजोर बन्ने सम्भावना छ । यसले गर्दा पश्चिमी क्षेत्रमा वर्षा र हिमपात भए पनि बाग्मती, मधेस प्रदेश र प्रदेश १ मा वर्षाको  सम्भावना तत्काललाई छैन ।

पर्सि बेलुकादेखि फेरि अर्को निम्न चापीय प्रणाली भित्रने सम्भावना रहेको र यो पनि पश्चिमी क्षेत्रमा नै बढी सक्रिय हुने देखिएको मौसमविद् समिर श्रेष्ठले बताए  । काठमाण्डौसहित बाग्मती प्रदेश, मधेस प्रदेश र  प्रदेश १ मा पर्सिसम्म वर्षाको कुनै सम्भावना छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाले तीन दिनसम्मको मौसमी अवस्थाबारे पूर्वानुमान गर्दै आएको छ ।
 

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  ११:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update