Sagun Khabar
जिल्ला अस्पताल बैतडीमा बाल रोग विशेषज्ञ सेवा सुरु

बैतडी- जिल्ला अस्पताल बैतडीमा बाल रोग विशेषज्ञ सेवा सुरु भएको छ । यहि माघ नौ गतेदेखि अस्पतालमा बाल रोग विशेषज्ञ सेवा सुरु भएको हो ।

बालरोग विशेषज्ञ डाक्टर रिषि काफले अस्पतालमा हाजिर भएपछि विशेषज्ञ सेवा सुरु भएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी चन्द्र सिंह डोबालले जानकारी दिए ।

विशेषज्ञ डाक्टर आएपछि सेवा प्रारम्भ भएर बालबालिकाहरुले उपचार पाइराखेका उनले बताए । विशेषज्ञ डाक्टरको अभावले सेवा लिन जिल्लाका नागरिकहरुले यहाँबाट डडेल्धुरा, धनगढी लगायतका अन्य ठाउँमा जानु पर्ने बाध्यता थियो ।

अब भने जिल्ला अस्पतलमै  सेवा पाउने भएका हुन् । बाल रोग विशेषज्ञ सहितको स्वास्थ्य  सेवा सुरु भइसकेकाले अब बिरामीले  अन्यत्र जानुपर्ने बाध्यता हटेको सूचना अधिकारी डोबालले बताए । यस्तै जिल्ला अस्पतालमा नाक, कान, घाँटी रोग विशेषज्ञ सेवा पनि सञ्चालनको प्रकृयामा रहेको छ ।  

केहि दिनमा विशेषज्ञ डाक्टर आइपुग्ने र त्यसपछि नाक, कान, घाँटी रोग विशेषज्ञ  सेवा सुरु हुने उनले बताए । जिल्ला अस्पातलमा अहिले हाडजोर्नीको अप्रेशन हुनुका साथै हर्नीया, हाइड्रोसिलको समेत अप्रेशन हुने गरेको छ ।

यस्तै जटीलतायुक्त प्रसुती सेवा पनि जिल्ला अस्पतालमा उपलब्ध रहेका छन् । जसबाट बिरामीहरुलाई उपचारका लागि सहज भएको छ । समान्य उपचारका लागि अन्यत्र जानु पर्ने यहाँका नागरिकहरुको बाध्यता अन्त्य भएको छ ।

जिल्ला अस्पतालमा बिशेषज्ञ सहितको सेवा सञ्चालनमा रहेकाले पहिलाको तुलनामा बिरामीहरुको संख्या पनि बढ्दै गएको अस्पताल स्रोतले  जनाएको छ । 

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १६:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update