बैतडी –बैतडीको पुर्चौंडी नगरपालिकाले शहीद दिवसको अवसरमा शहीद परिवारलाई सम्मान गर्ने भएको छ । विभिन्न आन्दोलनमा शाहदात प्राप्त गरेका व्यक्ति परिवारलाई नगद सहित सम्मान गर्ने तयारी रहेको नगर प्रमुख दीपकबहादुर बमले बताए ।
नगर प्रमुख बमले पद बहाली गरेको दिन घोषणा गरेको कार्यक्रम अनुसार नगरपालिकाले शहीद परिवारलाई नगद सहित सम्मान गर्ने तयारी गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीरबहादुर नेपालीले बताए ।
पालिकाभित्र रहेका ३१ जना शहीद परिवारलाई नगद सहित सम्मान गरिने उनले बताए । प्रति परिवार २५ हजार नगद सहित सम्मान गर्ने कार्यक्रम रहेको छ । माघ १६ गतेका दिन नगरपालिकामा कार्यक्रमको आयोजना गरेर शहीद परिवारलाई नगद सहित सम्मान गरिने बताइएको छ ।
शहीद परिवारका व्यक्तिहरुलाई सम्मान गर्नका लागि प्रत्येक वडा कार्यालय मार्फत जानकारी गराइसकिएको नगर प्रमुख बमले बताए ।
पुर्चौडी नगरपालिका वडा नं– १ का ४, वडा नं–२ का २, वडा नं– ३ का ७, वडा नं– ४ का ३, वडा नं– ५ का ५, वडा नं– ७ का २, वडा नं– ८ का ४, वडा नं– ९ का ३ र वडा नं– १० का १ शहीद परिवारलाई आर्थिक सहयोग तथा सम्मान गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत नेपालीले बताए ।
नगरपालिकाले विभिन्न आन्दोलनमा ज्यान गुमाएका शहीदहरुको पहिचान गरी उनीहरुका परिवारलाई आर्थिक सहयता सहित सम्मान गर्न लागेको हो ।





